ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रौतहटमा तीन हजार हेक्टरभन्दा बढी जंगल अतिक्रमण

२०८० भदौ, २१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
प्रतीकात्मक तस्वीर ।

रौतहट । जिल्लाको करीब तीन हजार एक सय बढी हेक्टर क्षेत्रफल जङ्गल अतिक्रमणमा परेको छ । यस्तै, चुरे, भावर आसपासका क्षेत्रमा वन मासिनुका साथै बालुवा, ढुङ्गा, गिटी उत्खनन् गर्ने काम तीव्ररूपमा बढेको छ । 

सम्बन्धित निकाय मौन हुँदा राजमार्ग क्षेत्रका आसपासमा अतिक्रमित वन जङ्गलको जग्गामा पक्की घर निर्माण गर्ने होडबाजी नै चलेको स्थानीय बताउँछन् । वन अतिक्रमण तीव्ररूपमा बढे पनि वन प्रशासनले त्यसतर्फ ध्यान दिएको छैन ।

सबैभन्दा बढी वृन्दावन नगरपालिका–१ बलेरीको जङ्गल अतिक्रमण भएको छ । सो ठाउँमा घर बनाउने क्रम बढेको स्थानीय बताउँछन् । ‘पहिला सुकुम्बासीको नाममा जङ्गल फँडानी गरी भोटे टोल स्थापना भएको थियो, अहिले यो टोल आसपासका ठाउँमा वन कार्यालय मलेरीका कर्मचारीको मिलेमतोमा वन मासेर घर, टहरा बनाउने क्रम बढ्दै गएको छ,’ स्थानीय मितेश नन्दन मिश्राले भने । 

केही समयपहिले डिभिजन वन कार्यालयले नर्सरी बनाएर वृक्षरोपण गरेको स्थानमा घर बनाउने कार्य देखिएको डिभिजन वन कार्यालयका प्रमुख सुनिलकुमार कर्णले बताए  

जिल्लाको बलेरीमा मात्र नभएर अन्य स्थानमा समेत वनको जग्गामा घरटहरा बनाउने क्रम देखिएको छ । चन्द्रपुर नगरपालिकाको बेतौनाको जङ्गलमा राजनीतिक दलको संरक्षणमा घरटहरा बनाउने क्रम बढ्दै गएको छ ।

राजनीतिक दलको संरक्षणका कारण वन जङ्गलको अतिक्रमित जग्गामा निर्माण गरिएको खेतीयोग्य जग्गा, घर, टहरा भने खाली गराउन समस्या भएको वन कार्यालयले जनाएको छ । यस वर्ष भने दर्जन बढी नयाँ घर निर्माण भएको बताइएको छ । 

अनधिकृतरूपमा बसेको मानव बस्तीमा खानेपानी, बिजुली, विद्यालय लगायतको व्यवस्थापन गरिएको हुँदा कसरी अतिक्रमित बस्तीलाई खाली गराउने भन्ने समस्या रहेको प्रमुख कर्णले बताए । 

राष्ट्रिय वनअन्तर्गत पर्ने चन्द्रपुर नगरपालिका–३ अरुण बस्ती, भोलेन्टार, गैंडाटारको महादेव डाँडा, तोरीवारी, इपलीबस्ती, फूलबारी, हिलेखोला पौराई, गुजरा, वृन्दनवन, फतुवा विजयपुर लगायतका वनजङ्गल क्षेत्रमा रुख व्यापकरूपमा कटानी गरेर अतिक्रमण गर्ने कार्य तीव्ररूपमा भइरहेको बताइएको छ । 

वन क्षेत्रमा चरिचरनका साथै रुख काट्ने प्रवृत्ति पछिल्लो समयमा बढेर गएको छ । राजमार्ग उत्तर तथा चुरेसँगै जोडिएका वन क्षेत्रमा वन कर्मचारीको उपस्थिति शून्य रहँँदा राष्ट्रिय वन सम्पदा अतिक्रमणको चपेटामा पर्दै आएको हो । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)