काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक १ दशमलव ४७ प्रतिशत अर्थात् २८ दशमलव ९२ अंक घटेको छ । यससँगै परिसूचक १ हजार ९३२ दशमलव ४५ विन्दुमा झरेको छ । यस दिन सेन्सेटिभ इन्डेक्स १ दशमलव ४९ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव ४१ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ३८ प्रतिशत घटेको छ ।
यस दिन २७६ धितोपत्रको ३७ लाख ६९ हजार ३३ कित्ता शेयर ३२ हजार १३९ पटकमा रू. १ अर्ब १५ करोड बराबरको कारोबार भएको छ ।
वित्तीय प्रणालीमा पर्याप्त लगानीयोग्य रकम भए पनि कर्जाको माग नहुनु, महँगो ब्याजदर हुनु, खराब कर्जा बढ्नुलगायत कारणले पनि बजार प्रभावित भएको जानकारहरू बताउँछन् ।
विशेष गरी १२ करोडको क्यापका कारण अहिले ठूला लगानीकर्ता कर्जा लिएर थप लगानी गर्न नसक्ने अवस्थामा पुगेकाले बजार प्रभावित भएको लगानीकर्ताहरूको भनाइ छ ।
यसो त पछिल्लो समय धितोपत्रको दोस्रो बजार घटिरहेको समयमा सेबोनले धमाधम आईपीओ र हकप्रद शेयर जारी गर्न अनुमति दिइरहेको छ । यसले बजारमा आपूर्ति बढाउँदा बजार प्रभावित भएको लगानीकर्ता बताउँछन् । बजार प्रभावित भएकाले लाभांशको सिजन शुरु हुन लाग्दा पनि लगानीकर्ता सक्रिय हुन सकेका छैनन् ।
शेयर बजारमा लगानीको माहोल बढाउन नियामक निकायले पहल गर्नुपर्ने लगानीकर्ताको सुझाव छ ।
बिहीवार कारोबारमा आएका धितोपत्रमध्ये शुभम पावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको हो । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६९१ पुगेको छ ।
शेयर मूल्य सर्वाधिक बढ्ने कम्पनीको सूचीमा दोस्रोमा थ्री स्टार हाइड्रोपावर छ । कम्पनीको शेयर मूल्य ७ दशमलव ४६ प्रतिशत बढेको छ । यससँगै कम्पनीको शेयर मूल्य रू. ३१७ पुगेको छ ।
बिहीवार सबैभन्दा बढी बाराही हाइड्रोपावर पब्लिक कम्पनीका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ९ दशमलव ७१ प्रतिशत घटेर शेयर मूल्य प्रतिकित्ता रू. ३१६ मा झरेको छ । यस्तै, सिटिजन्स म्युचुअल फण्ड २ को इकाई मूल्य ९ दशमलव ३६ प्रतिशत घटेर रू. ७ दशमलव ७५ कायम भएको छ ।
यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा लिवर्टी इनर्जीले ओगटेको छ । कम्पनीको रू. ६ करोड १५ लाख बराबरको भएको हो । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १५२ कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने कम्पनीको सूचीमा दोस्रोमा सोल्टी होटल छ । कम्पनीको रू. ४ करोडभन्दा बढीको शेयर खरीदविक्री भएको हो ।
यस दिन कारोबारमा आएका १३ ओटै समूहगत परिसूचक घटेका छन् । सबैभन्दा बढी हाइड्रोेपावर समूहको परिसूचक २ दशमलव ५२ प्रतिशत घटेको छ । समूहगत परिसूचक सर्वाधिक घट्ने सूचीमा दोस्रोमा अन्य समूह छ । यो समूहको परिसूचक २ दशमलव ०४ प्रतिशत घटेको हो ।