ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

५५ प्रतिशत किसान परिवारलाई उब्जनीले वर्षभर खान पुग्दैन

२०८० भदौ, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रशान्त खड्का

काठमाडौं। कृषिप्रधान मुलुक नेपालमा आफ्नै उब्जनीले वर्षभर खान पुग्ने कृषक परिवार ४५ प्रतिशत मात्रै रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बिहीवार सार्वजनिक गरेको सातौं राष्ट्रिय कृषि गणना २०७८ ले यस्तो देखाएको हो ।

कृषि गणनाको तथ्यांकअनुसार नेपालका कुल ६६ लाख ६७ हजार घरपरिवारमध्ये ४१ लाख ३१ हजार कृषक छन् । तीमध्ये आफ्नै कृषि उत्पादनबाट भएको आम्दानीले वर्षभर खान पुग्ने परिवार ४५ प्रतिशत छ । यो भनेको १८ लाख ५७ हजार परिवार हो । आफ्नै उत्पादनले वर्षभर खान नपुग्ने कृषक परिवारको संख्या २२ लाख ७४ हजार अर्थात् ५५ प्रतिशत छ ।

पछिल्लो दशकमा वर्षभर खान पुग्ने कृषक परिवारको संख्या ५ प्रतिशत बिन्दुले बढेको देखिएको छ । अघिल्लो गणनामा आफ्नै उब्जनीले खान पुग्ने कृषक परिवार संख्या ४० प्रतिशत थियो । खान नपुग्ने संख्या ६० प्रतिशत थियो । 

कृषि तथा पशुपन्छी गणना शाखाका निर्देशक डा. बद्रीकुमार कार्कीले खान पुग्ने कृषक परिवार संख्या वृद्धि हुनुमा विगतको तुलनामा रासायनिक मलको सहज उपलब्धता, उन्नत बीउको प्रयोग र बालीनालीमा लाग्ने रोग किराको औषधिको उपलब्धता प्रमुख कारणको रूपमा रहेको बताए । तर, कृषि पेशाबाट अन्य पेशामा जानेको संख्या बढिरहेकाले यो वृद्धिलाई सन्तोषजनक मान्न नसकिने उनको भनाइ छ ।

आफ्नो उब्जनीले वर्षभर खान नपुग्ने परिवारमध्ये ४७ प्रतिशतले ४ देखि ६ महीना खान नपुगेको बताएका छन् । तीन महीना पनि खान नपुग्ने २४ प्रतिशत छन् । अघिल्लो कृषि गणनामा ६ महीना खान नपुग्नेको अनुपात ४४ प्रतिशत र ३ महीना पनि नपुग्नेको अनुपात १८ प्रतिशत थियो ।

आफ्नै उत्पादनले खान नपुग्ने अवस्थाका ६२ प्रतिशत परिवारले देशभित्रै ज्याला मजदूरी, १८ प्रतिशतले विदेशमा मजदूरी, १० प्रतिशतले गैरकृषि व्यवसाय र ५ प्रतिशतले ऋण लिएर गर्जो टार्ने बताएका छन् । 

आफ्नै कृषि उत्पादनले खान नपुग्ने अवस्थाका ६२ प्रतिशत परिवारले देशभित्रै ज्याला मजदूरी गरेर जीवनयापन गरिरहेका छन् । १८ प्रतिशतले बाह्य मुलुकमा गएर मजदूरी गरेको बताएका छन् । त्यसैगरी १० प्रतिशत घरपरिवारले गैरकृषि व्यवसाय र ५ प्रतिशतले ऋण लिएर गर्जो टार्ने गरेको जवाफ दिएका छन् । 

खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी किसानको खेतबारीमा वन्यजन्तुले पुर्‍याउने क्षति, जलवायु परिवर्तनलगायत कुराले हाम्रो कृषि अद्योगतितिर गइरहेकोले यसलाई आवश्यक पर्ने मल, बीउ, प्रविधिजस्ता कुरामा सुधार गरेर अघि बढ्नुपर्छ । माटो छुन घीन नमान्ने संस्कारको विकास गर्न सकेमा मात्र नेपालको कृषिले प्रगति गर्न सक्ने उनले बताए ।

खेती गर्ने जमीनको क्षेत्रफल घट्यो

पछिल्लो दशकमा नेपालमा कृषि गर्ने जमीनको क्षेत्रफल घटेको छ । सातौं कृषि गणना २०७८ अनुसार नेपालमा २२ लाख १८ हजार हेक्टर जमीनमा खेती गरिएको छ । कृषि गणना २०६८ तुलनामा यो ३ लाख ८ हजार हेक्टरले कम हो । त्यसबेला २५ लाख २५ हजार हेक्टर जमीनमा कृषि कार्य गरिएको थियो ।

खेती गर्ने जमीनको क्षेत्रफल घटे पनि कृषि कर्ममा लाग्ने परिवार संख्या भने बढेको तथ्यांकले देखाएको छ । नयाँ तथ्यांकअनुसार कृषि गर्ने परिवार संख्या ३ लाखले बढेको छ । अहिले देशभर ४१ लाख ३१ हजार परिवार कृषिमा आबद्ध छन् । २०६८ मा यस्तो संख्या ३८ लाख ३१ हजार थियो । मानिसले अन्य पेशा छोडेर कृषि अंगालेका कारण यो संख्या बढेको नभई कृषि कर्ममै संलग्न परिवार टुक्रिएर संख्या बढेको देखिएको निर्देशक कार्की बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)