ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बेनी–जोमसोम–कोरला सडकको आठ खण्डको निर्माण पूरा, भौतिक प्रगति ७५ %

२०८० भदौ, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फाइल तस्वीर ।

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक योजनाको आठओटा खण्ड स्तरोन्नति गरिएको छ । 

पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङस्थित चीनको सिमाना कोरला नाका जोड्ने दुई सय दुई किलोमिटर दूरीको सडक दुई लेनको कालोपत्र र ग्राभेल बनाउन विसं २०७३/०७४ देखि शुरु भएको सो योजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति सकिएको हो । 

म्याग्दी, मुस्ताङ र पर्वतमा निर्माणाधीन रु सात अर्ब ५५ करोड लागत अनुमान गरिएको सो योजनाका लागि आर्थिक वर्ष २०७९/०८० सम्म रु ६ अर्बभन्दा बढी खर्च भइसकेको छ । 

योजनाका प्रमुख जगत प्रजापतिले ६ ओटा खण्डमा ८५ किलोमिटर ग्राभेल र दुईओटा खण्डको १७ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिँदा समग्र योजनाको भौतिक प्रगति ७५ पुगेको जानकारी दिए ।  

‘एक सय किलोमिटर सडक कालोपत्र गर्न ठेक्का सम्झौता भएकामा मुस्ताङको थासाङ गाउँपालिका–५ को कैकुखोलादेखि खन्ती जोड्ने १६ किलोमिटर खण्डमा कालोपत्र सकिएको छ,’ उनले भने, ‘कागबेनी–कोरलाखण्डको सातमध्ये २५ किलोमिटर दूरीमा चराङ–छोसेरबाहेक ६ खण्डमा ग्राभेल गरिएको छ ।’ 

एक किलोमिटर तीन सय मिटर दूरीको गलेश्वर–राहुुघाटखण्डमा पूरै सडक कालोपत्रे गरिएको छ भने कैकुखोला–खन्तीखण्डकमा आक्सपाल्ट प्रविधिको कालोपत्र गरिएको छ । 

१३ किलोमिटर लामो जोमसोम–कागबेनी सडक कालोपत्र गर्न विसं २०७८ मा ठेक्का सम्झौता गरेका ठेकेदार डेढ वर्षपछि काममा फर्किएको योजना प्रमुख प्रजापतिले जानकारी दिए । तामाङ गौरी पार्वती कोशी एण्ड न्यौपाने जेभीले ठेक्का लिएको छैटौं खण्डको चराङ–छोसेर २५ किलोमिटर सडकमा तीन वर्षपछि ठेकेदार काममा फर्किएका छन् । 

८५ प्रतिशत भौतिक प्रगति भएको यो खण्डको सडक ११ मिटर फराकिलो बनाएर ग्राभेल गर्न संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । 

जोमसोम–कोरला खण्डको अन्य ६ ओटा प्याकेजको ७५ किलोमिटर सडक विस्तार, पर्खाल, नाली निर्माण, घुम्ती र ग्रेड सुधार गरी ग्राभेल गर्ने काम सकेर निर्माण व्यवसायीले हस्तान्तरण गरिसकेको योजना प्रमुख प्रजापतिले बताए । 

१८ किलोमिटर दूरीको कागबेनी–ताङ्वे बज्रगुरु खड्गकृष्ण जेभी, ११ किलोमिटर ताङ्वे–चैलेको दिवाडाफे एपेक्स जेभी, ११ किलोमिटर दूरीको चैले–भेनाको कान्छाराम कोशी एण्ड न्यौपाने जेभी र १२ किलोमिटर भेना–झैते सडक कञ्चनजङ्गा लामा बिल्डर्स बिरुवा जेभीले ठेक्का लिएका थिए । 

झैते–चराङ १९ किलोमिटर कञ्चनजङ्गा लामा मोतीदान जेभी र छोसेर–कोरला १४ किलोमिटर सडक स्तरोन्नतिको जिम्मा रौताहा एपेक्स जेभी कन्ट्रक्सनले लिएका थिए । १३ किलोमिटर दूरीको मालढुङ्गा–बेनी खण्डको ४२, तीन किलोमिटर दूरीको बेनी–गलेश्वर खण्डको ८५ प्रतिशत, राहुघाट–नारच्याङ पुल खण्डको ८५ प्रतिशत, नारच्याङपुल–घाँसा खण्डको ६० प्रतिशत प्रगति भएको छ । म्याग्दीको राहुघाटदेखि मुस्ताङको घाँसा खण्डको सडक पहिरोले असर पारेको छ । 

योजनामार्फत आठओटा पक्की पुल र तीनओटा बेलिब्रिज निर्माण सकिएका छन् । थप एकओटा मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ । १२ ओटा मोटरेबल पुल निर्माणाधीन छन् । थप पाँच ठाउँमा पुल निर्माणका लागि प्रस्ताव गरिएको आयोजना प्रमुख प्रजापतिले बताए ।

यो सडकलाई गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको छ । यस सडकले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)