काठमाडौं । हाथवे इन्भेस्टमेण्ट नेपाल लिमिटेडको आईपीओमा माग भन्दा ६ गुणा बढी आवेदन परेको छ । शुक्रवारसम्ममा ७ लाख २७ हजार ३४९ जना आवेदकले १ करोड ७६ लाख ७४ हजार ६६० कित्ताका लागि आवेदन दिएका हुन । जुन माग भन्दा ७ दशमलव २८ गुणा बढी आवेदन परेको हो । कम्पनीले भदौ २१ गते देखि प्रतिशेयर ५० रुपैयाँ अंकित मूल्यमै कम्पनीले आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२ दशमलव ५० प्रतिशत दरले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कुल कित्ता आईपीओमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा २ लाख ९२ हजार ५०० कित्ता, कर्मचारीहरूमा ५८ हजार ५०० कित्ता र सामूहिक लगानीकोषहरूमा १ लाख ४६ हजार २५० कित्ता आईपीओ बाँडफाँट गरिसकिएको छ ।
यीबाहेक बाँकी २४ लाख २७ हजार ७५० कित्ता आईपीओ भने आम सर्वसाधारणमा सार्वजनिक निष्कासनमा ल्याएको हो ।
सर्वसाधारणले यो आईपीओ खरीदका लागि न्यूनतम २० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । माग भन्दा बढी आवेदन परेकाले कम्पनीको आईपीओ भदौ २५ गते सम्म विक्री खुलामा रहनेछ् ।
आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत समेत आवेदन दिने व्यवस्था छ ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले मध्यम स्तरको क्रेडिट जोखिम रहेको संकेत गर्ने केयर एनपी इस्यूअर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।