काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी जारी गर्ने भएको छ । सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले भोलिबाट ६ वर्षे अवधिको विकास ऋणपत्र २०८६ ’झ’ बिक्री गर्न लागेको हो ।
बोलकबोल प्रक्रियाबाट बिक्री हुने सो ऋणपत्र खरीदको लागि बैंक तथा वित्तीय संस्था,गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनु पर्नेछ ।
इच्छुक खरीदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी खरीदकर्तालाई निष्कासित रकमको ८५ प्रतिशत अर्थात ८ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ र अप्रतिस्पर्धीका लागि १५ प्रतिशत अर्थात १ अर्ब ५० करोड छुट्याइएको छ ।
इच्छुक लगानीकर्ताले भोलि अर्थात भदौ २४ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सफट्वेयर मार्फत बोलपत्र पेश गर्नु पर्नेछ । ऋणपत्रमा न्यूनतम ५० हजार र बढीमा निष्कासित रकमको सीमा नबढाई पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म माग गर्न सकिनेछ । ऋणपत्र यही भदौ २५ गते निष्कासन हुनेछ भने २०८६ भदौ २५ गते साँवा भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ ।
विकास ऋणपत्रका ब्याजदर भने बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने राष्ट्र बैंकले जनाएको छ । ऋणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन पनि सकिन्छ ।