काठमाडौं । शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्तावसहित असोज ९ गतेका लागि बोलाइएको माईखोला हाइड्रोपावरको वार्षिक साधारण सभा स्थगित भएको छ ।
भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले अर्को निर्णय नभएसम्मका लागि उक्त साधारणसभा स्थगित गर्ने निर्णय गरेको जनाएको छ ।
यसअघि सार्वजनिक सूचनामा कम्पनीले काठमाडौंको धुम्बाराहीस्थित लर्ड पार्टी भेन्युमा आगामी असोज ९ गते बिहान ९ बजे सभा गर्ने जानकारी दिएको थियो ।
कम्पनीले सूचना जारी गर्दै उक्त दिन प्राविधिक कारणले सभा गर्न नसक्ने जानकारी गराएको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव विद्युत नियमन आयोगबाट स्वीकृत गराइसकेको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १ गते बुक क्लोज गर्ने बताएको थियो । बुक क्लोजको मितिबारे भने कम्पनीले जारी गरेकाे सूचनामा केही उल्लेख गरिएको छैन ।