ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उद्यमशीलता प्रवर्द्धनका आधा दर्जन प्रमुख कार्यक्रम घोषणा

महिला उद्यमी महासंघमा नयाँ कार्यसमिति

२०८० भदौ, २४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। महिला उद्यमी महासंघको बीसौं वार्षिक साधारणसभा तथा नवौं महाधिवेशनले २७ सदस्यीय नयाँ कार्यकारिणी समिति चयन गरेको छ । शुक्रवार काठमाडौंमा सम्पन्न महाधिवेशनबाट अध्यक्षमा शोभा ज्ञवाली, प्रथम उपाध्यक्षमा दर्शना श्रेष्ठ, द्वितीय उपाध्यक्षमा सुनिता वैद्य श्रेष्ठ, तृतीय उपाध्यक्षमा वासन्ती प्रधान र चौथो उपाध्यक्षमा महालक्ष्मी श्रेष्ठ निर्वाचित भएका छन् । त्यसैगरी महासचिवमा कुन्नम पोखरेल, सचिवमा सुमित्रा पलाञ्चोके र कोषाध्यक्षमा सविता सुवेदी निर्वाचित भएका छन् । महासंघले आफ्नो स्थापनाकालदेखि नै देशभरका महिलालाई आर्थिक रूपमा सशक्तीकरणका लागि पैरवी, सूचना प्रवाह, क्षमता अभिवृद्धि र व्यावसायिक परामर्श दिँदै आएको छ । महासंघ २०६० सालमा स्थापना भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र विशेष अतिथि प्रतिनिधिसभा सदस्य रेखा यादव रहेका थिए । साथै महिला र उद्यमशीलता विकासमा काम गर्ने सम्बन्धित मन्त्रालय तथा विभागका सचिवहरूको उपस्थिति थियो । सो अवसरमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रिजालले महासंघले उद्यमशीलता विकास क्षेत्रमा पुर्‍याएको योगदान अतुलनीय रहेको बताए । महासंघका हरेक कार्यक्रममा सरकारले सहयोग गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।

साधारणसभामा आर्थिक वर्ष २०७९–८० को आर्थिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको थियो । यस्तै महासंघद्वारा सञ्चालित क्रियाकलापका साथै विभिन्न समिति तथा उपसमितिमार्फत आयोजित क्रियाकलाप र उपलब्धिबारे विवरण प्रस्तुत गरिएको थियो । बीसौं वर्षमा प्रवेश गरेको अवसरमा महासंघले विभिन्न कार्यक्रम आयोजना गर्ने लक्ष्य लिएको छ । महासंघले बीसौं वर्ष विशेष संस्करण उद्यमी पत्रिका, ब्रान्डको स्मारिका प्रकाशन, शान्ति र्‍याली आयोजना, व्यवसाय विकास केन्द्रका विभिन्न सेवामा महिला उद्यमीको पहुँच बढाउने, विद्यमान परियोजनालाई निरन्तरता दिनेलगायतका योजना राखेको छ ।

महासंघले महिला उद्यमीहरूको हकहितमा काम गर्ने ‘उत्कृष्ट जिल्ला संघ पुरस्कार’ प्रदान गरेको छ, जसअनुसार कास्की महिला उद्यमी संघले प्रथम, बाँके महिला उद्यमी संघले द्वितीय, मोरङ महिला उद्यमी संघले तृतीय र सोलुखुम्बु महिला उद्यमी संघले सान्त्वना पुरस्कार तथा सम्मानपत्र प्राप्त गरेका छन् । त्यस्तै महासंघले केन्द्रका साधारण सदस्य अल्पना राजभण्डारी प्रधानलाई ‘उत्कृष्ट सदस्य पुरस्कार’ प्रदान गरेको छ भने ‘उत्कृष्ट कर्मचारी पुरस्कार’ रमोला स्थापितले प्राप्त गरेकी छन् । साधारणसभा तथा महाधिवेशनको अवसरमा ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा क्षमता’ नामक कार्यशाला गोष्ठी गरिएको थियो । दुईदिने कार्यशालाको पहिलो दिन सरकारले बनाइरहेको १६औं राष्ट्रिय योजनामा महिला उद्यमीले आर्थिक मुद्दा समावेशको विषयमा छलफल गरिएको थियो । छलफलको निष्कर्ष सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको नवनिर्वाचित अध्यक्ष ज्ञवालीले जानकारी दिइन् । 

बिहीवार कार्यशालाको पहिलो दिन प्रमुख अतिथिका रूपमा राष्ट्रिय योजना आयोगका सदस्य डा. अनिता ढुंगाना शाहको उपस्थिति थियो । यूएन वुमनको नवनियुक्त देशीय निर्देशक प्याट्रिया फर्नान्डिशको सहयोगमा कार्यशाला सम्पन्न भएको थियो । शुक्रवार दोस्रो दिनको कार्यशाला जर्मन अन्तरराष्ट्रिय सहयोग नियोग (जिआइजेड) र युरोपेली संघ (इयू)को सहयोगमा सम्पन्न भएको थियो । गोष्ठीमा विभिन्न जिल्लाबाट आएका महिला उद्यमीलाई उद्योग तथा व्यवसायमा नवीकरणीय ऊर्जा र ऊर्जा दक्षताको महत्त्वबारे अभिमुखीकरणसहित व्यवसाय प्रवद्र्धको तालीम दिइएको थियो । कार्यशालामा महिला उद्यमी महासंघ नेपालकी निवर्तमान अध्यक्ष निरु रायमाझी खत्री, युरोपेली संघ नेपालका प्रमुख डा. मार्को गेमर, जिआइजेडका प्रबन्धक डा. सञ्जय प्रसाद, जिआइजेडका ऊर्जा सल्लाहकार पशुपतिप्रसाद खत्री, वरिष्ठ ऊर्जा दक्षता विशेषज्ञ ज्ञानेन्द्र उपाध्याय, युरोपेली संघ नेपालका वरिष्ठ कार्यक्रम प्रबन्धक डा. रञ्जन प्रकाश श्रेष्ठ र नवनियुक्त अध्यक्ष शोभा ज्ञवाली लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा महिला उद्यमी महासंघ नेपालसँगको साझेदारी तथा समन्वयमा काम गर्ने विभिन्न सरोकारवाला निकायका पदाधिकारी लगायतको उपस्थिति थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)