सिराहा। अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रदीप गिरिको जन्मस्थान सिराहाको बस्तीपुरलाई सबै मिलेर विचार मन्थन र आध्यात्मिक चिन्तनको थलोको रूपमा विकास गर्नुपर्ने बताएका छन् ।
प्रदिप गिरी मेमोरियल ट्रष्टद्वारा सिराहाको बस्तीपुरमा आयोजित ‘समकालीन नेपाली राजनीतिका समाजवादी चिन्तक स्व. प्रदीप गिरिको प्रथम वार्षिकी सभा’मा मन्त्री महतले यस्तो बताएका हुन् ।
‘प्रदीप गिरिको ज्ञान, सादगीपन र सरलता हामी सबैका लागि अनुकरणीय छ,’ मन्त्री महतले भने, ‘दूरगामी कालमा जे जसको जे महत्त्व छ, त्यो महत्त्वलाई समाजले पूर्ण रूपमा आत्मसात् नगरेको हुन सक्छ । तर, भौतिक अस्तित्व नरहेपछि त्यसको आवश्यकता र महत्त्वका बारेमा मानिसले मन्थन गर्न थाल्छन् ।’