काठमाडौं । एफएमसीजी प्रडक्टहरू आयात गरेर विक्री वितरण गर्दै आएको एशियन डिस्ट्रिब्युटर्स प्राइभेट लिमिटेडले ५ वर्षमा झण्डै ६ अर्ब रुपैयाँ सञ्चालन नाफा गरेको छ । रेटिङ् कम्पनी ईक्रा नेपालका अनुसार कम्पनीले ५ वर्षमा ५ अर्ब ९५ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ ।
वित्तीय वर्ष सन् २०२२ मा १ अर्ब ४९ करोड सञ्चालन नाफा गरेको कम्पनीले सन् २०२३ को ९ महीना (आर्थिक वर्ष २०७९/८०) मा १ अर्ब १ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ । ईक्रा नेपालका अनुसार कम्पनीको ८१ करोड ४० लाख रुपैयाँ कर्जा छ । ईक्राले कम्पनीको १ करोड ३७ लाख रुपैयाँको दीर्घकालीन कर्जाको लागि त्रिपल बी माइनस र ८० करोड रुपैयाँको अल्पकालीन कर्जाको लागि ए थ्री रेटिङ दिएको छ ।
कुन वर्ष कति नाफा?
वर्ष | सञ्चालन नाफा (लाखमा) |
सन् 2019 | 1,210.30 |
सन् 2020 | 1,026.70 |
सन् 2021 | 1,216.90 |
सन् 2022 | 1,490.20 |
सन् 2023 (९ महीना) | 1,013.10 |
कुल | 5,957.20 |
स्रोत : ईक्रा नेपाल |
सन् २०११ मा स्थापित एशियन डिस्ट्रिब्युटर्समा विशाल ग्रुपको लगानी छ । कम्पनीमा आशिष कुमार अग्रवालको २६ प्रतिशत, कविता अग्रवालको २१ प्रतिशत, विशाल अग्रवालको ११ प्रतिशत, सबिता अग्रवालको ११ प्रतिशत र शिल्पा अग्रवालको ११ प्रतिशत शेयर हिस्सा छ ।
कम्पनीले निभिया, स्ट्रेक्स, म्याकभिटीज (डाइजेस्टिभ), भास्मोल, ग्लुकोन-डी लायतका स्थापित ब्रान्डहरू अन्तर्गत उत्पादनहरू आयात गरी विक्री वितरण गर्दै आएको छ । ईक्रा नेपालका अनुसार पछिल्लो तीन वर्षमा कम्पनीको आम्दानीमा शीर्ष १० ग्राहकहरूबाट क्रमशः २५ प्रतिशत, ३० प्रतिशत र ४५ प्रतिशत योगदान छ ।