काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत १५ वित्त कम्पनीको रिटर्न अन इक्वीटी (आरओई) अर्थात् इक्वीटीमा प्रतिफल औसतमा २ दशमलव ७९ प्रतिशत रहेको छ । सूचीकृत कम्पनीहरूले सार्वजनिक गरेको गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । अघिल्लो आवमा भने यी कम्पनीहरूको आरओई ३ दशलमव ५० प्रतिशत थियो । यस आधारमा वित्त कम्पनीहरूको आरओई अघिल्लो आवको तुलनामा गत आवमा शून्य दशमलव ७१ प्रतिशत घटेको छ ।
गत आवमा १५ वित्त कम्पनीहरूमध्ये १० ओटाको आरओई घटेको छ भने ५ ओटाको मात्रै बढेको छ । सबैभन्दा बढी आरओई मञ्जुश्री फाईनान्सको छ । गत आवमा यस कम्पनीको आरओई १३ दशमलव ८९ प्रतिशत रहेको हो । अघिल्लो आवमा भने यस कम्पनीको आरओई ६ प्रतिशत मात्रै थियो । आरओई सर्वाधिक हुने कम्पनीको सूचीमा दोस्रोमा गोर्खाज फाइनान्स छ । कम्पनीको आरओई १० दशमलव ७७ प्रतिशत छ ।
स्रोत : कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणबाट ।
लगानीको सामान्य सिद्धान्तअनुसार आरओई घटेको क्षेत्रमा लगानीकर्ताको आकर्षण घट्नु पर्ने हुन्छ । तर, आरओई घट्दा पनि यी कम्पनीहरूको शेयरमा लगानीकर्ताको आकर्षण बढी रहेको देखिन्छ । यसको प्रमुख कारण हो– भोल्यूम (चुक्ता पूँजी) कम हुनु ।
पछिल्लो समय बजार बढ्दा कम चुक्ता पूँजी भएका कम्पनीहरूको शेयर मूल्य अस्वभाविक रूपमा बढेको पाइएको छ । अर्थात् यस्ता कम्पनीको शेयरमा ट्रेडरहरूले बढी कारोबार गरिरहेका हुन्छन्, जसका कारण ती कम्पनीको शेयर मूल्य बढ्ने गरेको छ । पछिल्लो समय दीर्घकालीन रूपमा लगानी गर्नेभन्दा अल्पकालीन रूपमा लगानी गर्नेको संख्या बढी छ ।
लगानीकर्ताले अल्पकालीन समयमै प्रतिफल हात पारेपछि कम्पनीको वित्तीय अवस्था, लाभांशलाई खासै चासो गर्दैनन् । तर, कतिपय अवस्थामा कम्पनीको वित्तीय अवस्थालाई पनि हेरेर लगानी गर्नुपर्ने विश्लेषकहरू सुझाउँछन् ।
तीन कम्पनी नोक्सानीमा
गत आवमा १५ वित्त कम्पनीहरूमध्ये तीन कम्पनी भने नोक्सानीमा छन् । समृद्धि फाइनान्स, रिलायन्स फाइनान्स र प्रोग्रेशिभ फाइनान्स नोक्सानीमा रहेका हुन् ।