ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बजेट शून्यता हटाउन कोशी प्रदेश सरकारका दुई अध्यादेश

२०८० भदौ, २५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

विराटनगर। दुई सातासम्म कोशी प्रदेशमा बजेट शून्यता भएपछि नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले यो अवस्था हटाउन आर्थिक अध्यादेश २०८० र विनियोजन अध्यादेश २०८० जारी गरेको छ । अध्यादेश जारी भएपछि सरकारले खर्च र कर संकलन गर्ने दुवै बाटो खुलेको छ । यसअघि संवैधानिक अड्चनका कारण सरकारले खर्च गर्न र कर संकलन गर्न नपाउने अवस्था आएको थियो ।

कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्ले शुक्रवार राति नै दुई अध्यादेश प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष पेश गर्ने निर्णय गरेको थियो । आइतवार दुवै अध्यादेशलाई प्रदेश प्रमुख खापुङले जारी गरेका छन् । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको अध्यादेश प्रदेशसभाबाट पारित नभई स्वत: निष्क्रिय भएपछि पुन: अध्यादेश जारी गरिएको हो । जेठ ३१ गते जारी दुवै अध्यादेश भदौ १० गते निष्क्रिय भएका थिए ।

उद्धव थापा नेतृत्वको सरकारलाई सर्वोच्च अदालतले कामचलाउमा परिणत गर्दै दीर्घकालीन महत्त्वका निर्णय नगर्न आदेश दिएपछि भदौ १० देखि प्रदेश बजेट शून्यतामा थियो । हिक्मत कार्की नेतृत्वको सरकार बनेपछि पुन: अध्यादेश जारी भएको हो ।

थापा नेतृत्वको अघिल्लो सरकारले आफैले प्रदेशसभामा दर्ता गराएको बजेट प्रतिस्थापन विधेयक अलपत्र छाडेर प्रदेशसभाको अधिवेशन नै अन्त्य गरेको थियो । थापाको तत्कालीन सरकारलाई समेत अध्यादेशबाटै भए पनि बजेट शून्यताको अन्त्य गर्ने अवसर थियो । तर गठबन्धन दलहरूबीचको असमझदारीका कारण त्यो हुन सकेन ।

थापाले लिएको विश्वासको मतको वैधानिकतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा नेकपा एमालेले रिट दायर गरेको थियो । उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले भदौ ७ मा दीर्घकालीन र नीतिगत निर्णयसमेत नगर्न/नगराउन सरकारका नाममा आदेश दिएको थियो । तत्कालीन मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारीमा रहेका कार्कीले अध्यादेशमार्फत आर्थिक वर्ष २०८०/८१ का लागि रू. ३६ अर्ब २४ करोड ३५ लाखको बजेट प्रस्तुत गरेका थिए, जसमा चालूतर्फ १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार र पूँजीगततर्फ रू. १८ अर्ब २३ करोड ५२ लाख, वित्तीय व्यवस्थातर्फ रू. १ करोड र वित्तीय हस्तान्तरणतर्फ रू. ३ अर्ब ६० करोड २९ लाख रुपैयाँ विनियोजन भएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)