ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल–भारत महिला उद्यमी सम्मेलन: ‘शीप तथा बजारीकरणमा महिला उद्यमीबीच सहकार्यको खाँचो’

२०८० भदौ, २५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। नेपाल–भारतका महिला उद्यमीहरूबीच शीप विकास, उत्पादनको बजारीकरण र प्रविधि हस्तान्तरणका लागि सहकार्य गर्नुपर्नेमा जोड दिइएको छ । दुई छिमेकी मुलुकबीच धेरै समानता रहेको भन्दै सहभागी महिला उद्यमीहरूले उद्यमशीलताका लागि सहकार्य आवश्यक भएको बताएका हुन् ।

काठमाडौंमा आइतवार आयोजित ‘नेपाल–भारत अन्तरराष्ट्रिय महिला उद्यमी सम्मेलन–२०८०’को अवसरमा परराष्ट्रमन्त्री एनपी साउदले उद्यमशीलता विकासका लागि सहकार्य आवश्यक हुने बताए । सम्मेलन नेपाल घरेलु तथा साना उद्योग महासंघअन्तर्गतको केन्द्रीय महिला उद्यमी समितिले आयोजना गरेको हो । कार्यक्रमका सहआयोजक इन्डियन युथ चेम्बर अफ कमर्श र ग्लोबल इन्डिया मिसन रहेका थिए ।

कार्यक्रममा मन्त्री साउदले सरकारको नीति नै उद्यमशीलता प्रवर्द्धन, संवद्र्धन र संरक्षण रहेको बताए । महिलाहरू राजनीतिक रूपमा मात्रै नभई आर्थिक रूपमा पनि सशक्त रूपमा अगाडि आइरहेको उनको भनाइ थियो ।

काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले महिला उद्यमशीलता विकासका लागि प्रत्येक वडामा तालीम दिने कार्य शुरू गरिएको बताइन् । रोजगारी सृजना गर्ने उद्यमशीलता विकास गर्नुपर्नेमा उनले जोड दिइन् । व्यवसाय तथा उद्यम गर्न चाहनेलाई महानगरले ४० प्रतिशतसम्म कर छूट दिने नीति ल्याएको जानकारी उनले दिइन् । ‘सबै वडाले एकैखाले तालीम दिँदा एकै प्रकारका वस्तु उत्पादन हुँदा कसले किन्ने भन्ने समस्या भयो,’ ढंगोलले भनिन्, ‘त्यसैले महानगरका सबै ३२ ओटै वडामा फरक–फरक खालका व्यावसायिक तालीम दिनेछौं ।’

सम्मेलनकी संयोजक सोनी महतोले महिला उद्यमीको प्रयासलाई व्यक्तिगत लाभको दृष्टिबाट मात्र हेरिनु नहुने बताएन् । ‘महिलाले उद्यममार्फत गरेको रोजगारी सृजना, आत्मनिर्भर बन्ने दिशामा पुर्‍याएको योगदान लगायत पनि हेर्नुपर्छ,’ उनले भने । आर्थिक विकासका लागि महिला उद्यमशीलताको पूर्ण उपयोग गरेर उपलब्ध स्रोतसाधनको परिचालन गर्नुपर्ने उनले बताइन् । 

महिला उद्यमीको मनोबल उच्च बनाउन यस क्षेत्रमा लगानी वृद्धि, उद्योग स्थापनामा सहजीकरण, सहज शीपमूलक तालीम, सरल व्यावसायिक कर्जा तथा उपयुक्त प्रविधिमा सहयोग विस्तार र त्यसमा सरकारले विशेष कर छूटको व्यवस्था गरिदिनुपर्नेमा उनको जोड छ । कर लगायत विषयमा सरकारले सहयोग गरेमा महिलाहरू घरेलु तथा साना उद्योग व्यवसायमा थप आकर्षित हुने उनले बताइन् । उक्त कार्यक्रममा नेपालका सातै प्रदेशका महिला र भारतबाट सहभागी भएका उद्यमी महिलालाई सम्मान गरिएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)