ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हिमालय एअरलाइन्स्को काठमाडौं–छिइङताओ उडान शुरू: १० गन्तव्यबाट १० लाख पर्यटक भित्त्याउने लक्ष्य

२०८० भदौ, २५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। हिमालय एअरलाइन्स्ले काठमाडौंबाट चीनको पर्यटकीय शहर छिइङताओमा हवाई उडान शुरू गरेको छ । उक्त एअरलाइन्स्ले चीनतर्फ गन्तव्य बढाउँदै छिइङताओमा आइतवारदेखि चार्टर्ड उडान शुरू गरेको हो ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छिइङताओको पहिलो उद्घाटन उडानमा सवार यात्रुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपालका लागि चिनियाँ राजदूत छन सोङ र हिमालय एअरलाइन्स्का अध्यक्ष झो एनयोङले स्वागत गरेका थिए ।

दुई देशबीच पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंबाट छिइङताओमा सीधा उडान सञ्चालन गरिएको कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । कम्पनीले चीनका कम्तीमा १० गन्तव्यमा उडान गर्ने र वार्षिक १० लाख पर्यटक भित्त्याउने लक्ष्य रहेको उनले बताए । ‘हिमालयको उडान पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण हुन्छ । हाम्रो आठवर्षे हवाई यात्राका क्रममा चीनसँगको सम्बन्ध प्रगाढ तुल्याउँदै बढीभन्दा बढी पर्यटक भित्त्याउने लक्ष्य छ,’ उनले भने ।

उद्घाटन उडानका अवसरमा आयोजित पत्रकार सम्मेलनमा पर्यटनमन्त्री किरातीले चीनको सांस्कृतिक एवं पर्यटकीय शहर छिइङताओमा हिमालयले पहिलो पर्यटक उडान गरेर पर्यटनका लागि महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरे । दुई देशबीच पर्यटन र व्यापारको प्रचुर सम्भावना रहेको भन्दै उनले यस उडानले त्यसमा ठूलो टेवा पुग्ने अपेक्षा गरे ।

चिनियाँ राजदूत छनले काठमाडौं–छिइङताओ–काठमाडौं उडानको आरम्भ हुनु नेपाल–चीनबीचको बढ्दो सहयोगको प्रमाण भएको बताए । चीनले नेपालको हवाई पूर्वाधार विकासमा सक्रिय भूमिका निर्वाह गर्दै आएको उनले उल्लेख गरे । ‘यस नयाँ रूटले नेपालको उड्डयन उद्योगमा नयाँ गति ल्याउनेछ,’ उनले भने, ‘यसले हाम्रो द्विपक्षीय सम्बन्धमा नयाँ अध्याय थप्दै दुई देशबीचको मित्रता र सहयोगमा ठूलो योगदान पुग्नेछ ।’

कम्पनीका अध्यक्ष झोले काठमाडौं–छिइङताओ–काठमाडौं उडानको शुरुआत हुनु हिमालय एअरलाइन्स्का लागि गौरवको विषय भएको बताए । ‘छिइङताओ चीनको महत्त्वपूर्ण व्यापारिक एवं वित्तीय केन्द्र हो, जसले एसियालाई यूरोपसँग जोड्छ,’ उनले भने । यस उडानमार्फत दुवै देशले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य लिएको कम्पनीले बताएको छ । सातामा चार उडान गर्ने र यात्रुको चापअनुसार आगामी दिनमा उडान थप्ने योजना रहेको कम्पनीले बताएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लिएर अक्टोबरदेखि नियमित उडान शुरू गर्ने योजना रहेको कम्पनीले बताएको छ । कम्पनीले चीनका विभिन्न १० गन्तव्यमा चार्टर्ड उडानका साथै दुबई, मलेसिया, कतार, साउदी अरेबिया, बंगलादेशलगायत गन्तव्यमा नियमित उडान गर्दै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)