काठमाडौं। काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (कुसोम)ले स्नातक, एमफिल र पीएचडी तथा स्वतन्त्र अनुसन्धानकर्तालाई विभिन्न ६ विषयमा अनुसन्धानका लागि प्रस्ताव आह्वान गरेको छ । कुसोमले आइतवार एक कार्यक्रम आयोजना गरी ‘डब्लुटीओ चियर्स प्रोग्राम’अन्तर्गत यही सेप्टेम्बर १५ सम्मको समयसीमा तोकेर अनुसन्धानको प्रस्ताव आह्वान गरेको हो । कुसोमले प्रत्येक अनुसन्धानका लागि रू. २ लाख अनुदान समेत प्रदान गर्नेछ । अनुसन्धानको प्रकृतिअनुसार यसमा थप गर्न सकिने कुसोमका रजिस्ट्रार प्राडा. अच्युत वाग्लेले जानकारी दिए । कुसोमले गत वर्षसमेत चारओटा अनुसन्धानका लागि अनुदान दिएको छ । कार्यक्रममा गतवर्ष अनुदान पाएका अनुसन्धानकर्ताले आफ्नो अनुसन्धानबारे प्रस्तुतीकरण गरेका थिए ।
कुसोम विश्वभरका १७ अन्य विश्वविद्यालयसँगै प्रतिस्पर्धात्मक प्रक्रियामा डब्ल्यूटीओ चेयर्स कार्यक्रमबाट सम्मानित भएको छ । यस्तै कुसोमले ‘एआईबी साउथ एशिया कन्फ्रेन्स २०२४’ आयोजना गर्ने भएको छ । दक्षिण एशियाली राष्ट्रहरू (बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंका)को सहभागिता रहने यो कार्यक्रम आगामी वर्ष हुनेछ ।