काठमाडौं। नेपालका लागि एमजी गाडीको आधिकारिक वितरक एवं आयातकर्ता पारामाउन्ट मोटर्सले विद्युतीय गाडी (ईभी) एमजी कमेट र एमजी फोर सार्वजनिक गरेको छ । नेपाली बजारमा बढ्दो ईभीको भीडमा यी दुई मोडल नयाँँ रहेको कम्पनीको भनाइ छ ।
कम्पनीका प्रबन्ध निर्देशक सचिन अर्यालले यी गाडी स्टाइलिस, प्राक्टिकल र थोरै बजेटमा किन्न चाहने ग्राहकका लागि उपयोगी मोडल रहेको बताए । भारतमा बनेको एमजी कमेटले सिंगल चार्जमा २३० किलोमिटरको रेन्ज दिने बताइएको छ । यसमा यात्रुको सुरक्षाका लागि डुवल फ्रन्ट एयर ब्याग, पछाडि पट्टि पार्किङ सेन्सर र सबै यात्रुका लागि सिट बेल्ट राखिएको बताइएको छ । एलसीडी स्क्रिन, रिमोट सेन्ट्रल लकिङ, म्यानुअल एसी, हिटर जस्ता सुविधा रहेको यो गाडीको शुरुआती मूल्य १७ लाख ९९ हजार रुपैयाँ रहेको विक्रेताको भनाइ छ ।
त्यस्तै बेलायतमा बनेको एमजी फोरमा सिंगल चार्जबाट ४३५ किलोमिटरको रेन्ज रहेको बताइएको छ । यसमा यात्रुको सुरक्षाका लागि रियर आइसोफिक्स, फ्रन्ट साइड एयर ब्याग, टायर प्रेसर मनिटरिङ सिस्टम, सिट बेल्ट रिमाइन्डर जस्ता फिचर रहेको विक्रेताको भनाइ छ । यसको शुरुआती मूल्य ४१ लाख ४९ हजार रुपैयाँ रहेको बताइएको छ ।