ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हाथवे इन्भेष्टमेण्टको आईपीओ खरीद गर्ने अन्तिम दिन आज 

२०८० भदौ, २५  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडले भदौ २१ गतेदेखि सार्वजनिक निष्कासन गरेको आईपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ । मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधि भदौ २५ गतेसम्म मात्र कम्पनीले आईपीओ विक्री गरेको हो । कम्पनीले प्रतिशेयर ५० रूपैयाँ अंकित मूल्यमै आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२ दशमलव ५० प्रतिशत दरले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कुल कित्ता आईपीओमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा २ लाख ९२ हजार ५०० कित्ता , कर्मचारीहरूमा ५८ हजार ५०० कित्ता र सामूहिक लगानीकोषहरूमा १ लाख ४६ हजार २५० कित्ता आईपीओ बाँडफाँट गरिसकिएको छ । यी वाहेक बाँकी २४ लाख २७ हजार ७५० कित्ता आईपीओ भने आम सर्वसाधारणमा सार्वजनिक निष्कासनमा ल्याएको हो ।
सर्वसाधारणले यो आईपीओ खरीदका लागि न्यूनतम २० कित्तादेखि  अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । छिटोमा भदौ २५ गतेसम्म विक्री अवधि तोकिएको यो आईपीओ छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि असोज ४ गतेसम्म विक्री लम्बिनेछ ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै मेरो शेयरमार्फत समेत आवेदन दिनुपर्नेछ । आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले मध्यम स्तरको क्रेडिट जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

२०६५ चैत १४ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सोही मितिदेखि यो कम्पनी सञ्चालनमा रहेको छ । यस कम्पनीमा नेपालका ख्याती प्राप्त युवा व्यवसायी, यद्यमी, चार्टर्ड एकाउन्टेन्ट, अन्य प्रोफेसनल लगायतका प्रबुद्ध व्यक्तिहरूको लगानी रहेको छ । यस कम्पनीले नेपालको पूँजीबजार र लगानीका अन्य क्षेत्रहरुमा आफ्नो लगानी गरी आफुलाई एक सफल कम्पनीको रुपमा उभ्याउन सफल भएको छ । हाल संस्थापक तर्फबाट चुक्ता भएको पू्ँजी १ अर्ब २ करोड ३७ लाख ५० हजार रूपैयाँ रहेको छ । सर्वसाधारणमा समेत आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १७ करोड कायम हुनेछ । संस्थापक तर्फ हाल ८७ दशमलव ५० प्रतिशत शेयर स्वामित्व कायम रहेको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)