ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एउटा मोबाइल कम्पनीबाट त्रस्त अमेरिका: मेट ६० प्रो : एक कोसेढुंगो

२०८० भदौ, २६  
लेख | दृष्टिकोण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar तेजेन्द्र बरुवाल ‘अनुसन्धित्सु’

गएको अगस्त २९ मा हल्लाखल्ला नगरी जारी गरिएको ह्वावेको मेट ६० प्रो अहिले चर्चामा छ । चीनका सरकारी समाचारहरू विजय उत्सव मनाइरहेका जस्ता देखिन्छन् । पश्चिमा सञ्चारमाध्यमहरू अनेक तर्कनासहित खोजीनीति गरिरहेका छन् । अब के भन्ने प्रश्नले वाशिङटनडिसीमा ढ्यांग्रो ठोकेको छ । मेट ६० प्रो भित्र के छ भनी हेर्न सामाजिक सञ्जालभरि फोन खोतलेर जाँच गरेका भिडियोहरू भाइरल भइरहेका छन् । स्न्यापड्रागन, एपल र सामसुङजस्ता चीप र मोबाइल फोन निर्माता कम्पनीहरूको शेयरको भाउ घट्न थालेको छ । 

मेट ६० मा के छ ?

मेट ६० प्रो ह्वावेको अरू फोनजस्तै मेट शृंखलामा अर्को एउटा ह्यान्डसेट मात्र हो । बजारमा नयाँ भएकाले थप केही सुविधा यसमा छन् जुन अरूमा छैनन् । जस्तै कुनलुन ग्लास, भूउपग्रह, फोन सम्पर्क आदि । जमीन हल्लाउने वा भुइँचालो ल्याउने कुनै सुविधा वा प्रविधि छैन । तर, यो फोन सेटसँगै ह्वावेको ५ जीमा पुनरागमन भएको छ । सन् २०१९ देखि १०० भन्दा बढी अमेरिकी प्रतिबन्ध खेपिरहेको ह्वावेले कडा प्रतिबन्ध हुँदाहुँदै पनि चीनलाई डोर्‍याउने गरी प्रविधि क्षेत्रमा एउटा अविश्वसनीय कोसेढुंगो पार गरेको छ जसले दुई महाशक्ति चीन र अमेरिकाको प्रविधिको होडमा दीर्घकालीन महत्त्व राख्छ ।

चीनको अग्रणी ह्वावे आजको सूचना र प्रविधिको युगमा बेताज बादशाह हो । मोबाइल फोनसेट मात्र नभएर ह्वावेले विश्वस्तरीय ५ जीको पूर्वाधार निर्माण र विकासका लागि काम पनि गर्छ । आफ्ना प्रतिस्पर्धीहरू जस्तै नोकिया, इरिक्सन र सामसुङभन्दा ह्वावे प्रतिबन्ध हुँदाहुँदै पनि धेरै अघि छ, सस्तो छ र भरपर्दो छ । ह्वावेले भर्खर ५.५ जी को पनि घोषणा गरिसकेको छ ।

पृष्ठभूमि 

अहिलेको संसार डिजिटल प्रविधि र इन्टरनेटको वरिपरि घुमिरहेको छ र यसको केन्द्र हो, चीप । प्रतिबन्ध अगाडि संसारकै सबैभन्दा उन्नत चीप किरिनको उत्पादन ह्वावेको एक एकाइ हाइसिलिकनले गथ्र्यो । किरिन चीप त्यति खेरका नाम चलेका चीप उत्पादक कम्पनीहरू सामसुङ, स्न्यापड्रयागन, इन्टेल, एपलको भन्दा पनि द्रुत थियो । ह्वावेले डिजाइन गरेको चीपको उत्पादन गथ्र्यो, ताइवानी कम्पनी टीएसएमसीले । अहिले पनि सामसुङले बाहेक अरू सबै कम्पनीले १४ न्यानो मीटरको भन्दा सानो चीप बनाउनु परे ताइवानी कम्पनी टीएसएमसीकै भर पर्नुपर्छ । सामसुङ र टीएसएमसीलाई त्यस्तो चीप उत्पादन गर्न आवश्यक एक्स्ट्रिम अल्ट्राभ्वायोलेट लिथोग्राफी मेशिनहरू नेदरल्यान्डको कम्पनी एएसएमएलले मात्र निर्माण गर्छ । १४ नानो मीटरभन्दा सानो चीप निर्माण गर्न आवश्यक ईयूभी लिथोग्राफी मेशिन मुख्य भूमि चीनसँग छैन । फेरि यो मेशिन हुनेबित्तिकै सबैले यस्तो चीप उत्पादन गर्न सकिहाल्छन् भन्ने पनि होइन ।

चीप निर्माण गर्नु एक लामो र जटिल प्रक्रिया हो । चीपको डिजाइन र फेब्रिकेशनमा चीन संसारमै अग्रणी भए पनि २८ नानो मीटरभन्दा सानो चीप निर्माण गर्नु चिनियाँ कम्पनीहरूका लागि महाभारत थियो किनकि त्यस्तो चीप छाप्न चाहिने ईयूभी लिथोग्राफी मेशिन डच कम्पनी एएसएमएलले अमेरिकी दबाबमा चीनलाई आजसम्म विक्री गरेको छैन । चीप डिजाइनमा प्रयोग हुने सफ्टवेयरहरू पनि अमेरिकी नै छन् र चीप उत्पादनमा प्रयोग हुने अन्य उपकरणहरू, सामग्री र रसायनहरूका लागि चीन ठूलो मात्रामा अमेरिकी, जापानी र कोरियाली कम्पनीहरूमा भर पर्नुपथ्र्यो । चीनमा आपूर्ति शृंखला नभएकाले, अमेरिकी प्रतिबन्धले चिनियाँ कम्पनीहरूले पश्चिमा र जापानी प्रविधिमा पहुँच पाउन छोडे ।

ह्वावे नै अमेरिकी तारो किन ?

विश्वव्यापी भूमिकामा ह्वावे जति प्राविधिक, आर्थिक र व्यापारिक हिसाबले सफल र सबल अरू कुनै पनि चिनियाँ कम्पनीहरू नभएका हैनन् । दूरगामी असर पार्ने अति आवश्यक प्रविधिमा ह्वावेको कब्जा छ । ह्वावे आईओटी, चीप डिजाइन, हार्डवेयर निर्माण, सफ्टवेयर निर्माण, दूरसञ्चारको पूर्वाधार निर्माण र विकासमा संसारकै अग्रणी रहेकाले अमेरिका त्रस्त छ । इन्टरनेटको वरिपरि रहेर ह्वावेको जत्तिको उपलब्धि संसारका कुनै पनि कम्पनीको छैन र सुदूर भविष्यमा पनि कुनै सम्भावना छैन । गूगल, सामसुङ, एपल, ल्याम रिसर्च र एएसएमएलले गर्ने सबै काम अहिले ह्वावे एक्लैले गर्ने गर्छ । अमेरिकी सरकार ह्वावेको सम्बन्ध चिनियाँ सरकार र चिनियाँ सेनामा रहेको विश्वास गर्छ र आफ्नो राष्ट्रिय सुरक्षाका लागि खतरा रहेको मान्छ ।

प्रविधिमा अग्रणी देशले नै राजनीतिक, सांस्कृतिक, आर्थिक र सैन्य शक्तिका रूपमा राज गरेको इतिहास छ । यसैको सेरोफेरोमा डिजिटल प्रविधि अहिले हरेक प्रविधिको आधार रहेको छ र डिजिटल प्रविधिको आधार हो, चीप । चीपविना अहिलेको संसार फेरि १९ औं शताब्दीमा फर्कने निश्चित छ । ज्यादा शक्तिशाली चीपको अर्थ हो, चाँडो डेटा सङ्कलन, तीव्र गतिको प्रशोधन र ज्यादा सटिक आकलन । जोसँग यी सबको सुविधा र पहुँच हुन्छ, आर्थिक, सैनिक र राजनीतिक हिसाबले उसैको वर्चस्व स्थापना हुनेछ । राजनीतिक शत्रु चीनको भविष्यको दुनियाँमा एकाधिकार र नियन्त्रण अमेरिकाका लागि सह्य हुने कुरा भएन ।

राजनीतिक, आर्थिक, सैन्य र प्राविधिक रूपमा अमेरिकालाई टक्कर दिने हैसियत यतिखेर चीनको मात्रै छ र अमेरिकी रजगज इतिहासमा पहिलोपटक खतरामा परेको छ । अमेरिकालाई चीनले उसैको विश्वव्यापीकरणको खेलमा उसैलाई पछि पारिरहेको कुरा पनि अमेरिकालाई पच्ने त कुरै होइन । सबै समस्याको जड अहिलेलाई यही हो ।

महाशक्ति रहिरहने र बन्ने बीचको होड 

१९औं र २०औं शताब्दीमा अमेरिकी रजगज चल्यो । दोस्रो विश्वयुद्घपछि त महाशक्ति भएर निस्कियो । अमेरिकाविरुद्ध सामरिक रूपमा चुनौती स्थापना गर्न सोभियत संघ सफल भए पनि व्यापारिक र आर्थिक हैसियत भने थिएन । उता, यूरोप एकीकृत थिएन र अमेरिकी गठजोडमै सामेल थियो । सोभियत संघको पतनपछि आर्थिक, प्राविधिक र सैन्य महाशक्ति केवल अमेरिकामात्र रह्यो । संसार एक ध्रुवीय भयो ।

सुतेको ड्र्यागन ब्यूँझिएको छ । राजनीतिक, आर्थिक, सैन्य र प्राविधिक रूपमा अमेरिकालाई टक्कर दिने हैसियत यतिखेर चीनको मात्रै छ र अमेरिकी रजगज इतिहासमा पहिलोपटक खतरामा परेको छ । राजनीतिक रूपले शत्रु चीनको उदय अमेरिकालाई मन पर्ने कुरै होइन । अमेरिका नं. एक को ताज चीनलाई दिन कुनै हालतमा तयार छैन । अमेरिकालाई चीनले उसैको विश्वव्यापीकरणको खेलमा उसैलाई पछि पारिरहेको कुरा पनि अमेरिकालाई पच्ने कुरै होइन । सबै समस्याको जड अहिलेलाई यही हो । राजनीतिक, आर्थिक र सैनिक प्रतिद्वन्द्विताबीच वर्तमान र भविष्यको सबैभन्दा प्रमुख प्रविधिमाथिको प्रभुत्व एक चिनियाँ कम्पनीको हातमा हुनु अमेरिकालाई कुनै हालतमा सह्य हुने कुरा भएन । अत: अमेरिका कुनै पनि तरीकाबाट ह्वावे र चीनलाई रोक्न उद्यत छ । जुनसुकै तरीका अपनाउन पनि अमेरिका तयार छ । यो नै ट्रम्प र बाइडेन प्रशासनको वर्तमान चीन नीति हो ।

मेट ६० प्रो को उपलब्धि 

ह्वावेले तीनछक पार्‍यो । उपलब्धि नाटकीय छ । यति छोटो अवधिमा घरमै आपूर्ति शृंखला तयार पार्नु र व्यापक अमेरिकी प्रतिबन्धबीच ‘चिनियाँ सपना’ प्राप्त गर्नु चानचुने होइन । उन्नत चीप किरिन ९०० फेरि फर्किएसँगै चीनमै ५जी को शक्तिशाली चीप बन्नु एक असाधारण उपलब्धि हो । 

पश्चिमा जगत् खासगरी अमेरिकाले विगत ४ वर्षदेखि ह्वावे र चीनविरुद्ध गरेको सबै प्रपञ्च र यत्न–प्रयत्न असफल भएका छन् । अमेरिकालाई जे डर थियो त्यही भयो । चीप प्रविधिको मामिलामा अमेरिकाले चीनमाथिको नियन्त्रण गुमाएको छ । चीनको स्मिक वा ह्वावे अब ताइवानको टीएसएमसी र दक्षिण कोरियाको सामसुङसँगै खडा भएको छ – त्यो पनि एएसएमएलको ईयूभीविना नै । 

मेट ६० प्रो सँगै घरेलु प्रविधि प्रयोग गरेर आफ्नै ५ जी चीप बनाउने चिनियाँ स्मिक वा ह्वावे कम्पनी सम्भवत: पहिलो कम्पनी भएको छ र यो उपलब्धि कुनै पनि अमेरिकी वा यूरोपेली कम्पनीहरूले अझैसम्म पनि पाउन सकेका छैनन् । यसले अति महत्त्वपूर्ण प्रविधिहरूमा सन् २०२५ सम्ममा स्वावलम्बी बन्ने चीनको लक्ष्य भेटाउन ठूलो सहयोग गर्नेछ । मेट ६० प्रो एक फोन सेट नभएर चीनका लागि कठिन चुनौती पार गरेर साकार भएको एक चिनियाँ सपना पनि हो । तसर्थ यसको प्राविधिक र राजनीतिक महत्त्व धेरै छ । वैश्विक दक्षिणले भविष्यको सबैभन्दा महत्त्वपूर्ण प्रविधिमा पश्चिम वा दक्षिणको जसरी भए पनि भर पर्नुपर्ने स्थितिलाई मेट ६० प्रो उल्टाइदिएको छ । यसको साङ्केतिक, व्यावहारिक, राजनीतिक र व्यापारिक महत्त्व चीनका लागि अविश्वसनीय छ । 

लेखक वैदेशिक मामिलाका अध्येता हुन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)