नेपालको पहिलो आईटी कलेज लर्ड बुद्ध एजुकेशन फाउन्डेशन २६ वर्ष प्रवेश गरेको छ । शुरुआती दिनमा झन्डै ८ वर्षसम्म घाटामा चलेको कलेज विद्यार्थी, अभिभावक र शुभचिन्तकको विश्वासका कारण यहाँसम्म पुग्न सफल भएको कलेजका अध्यक्ष पंकज जालान बताउँछन् । प्रस्तुत छ, नेपालमा सूचना प्रविधि (आईटी) शिक्षाको अवस्था, यस क्षेत्रमा उपलब्धि रोजगारीका अवसर, लर्ड बुद्ध एजुकेशन फाउन्डेशनका शैक्षिक कार्यक्रम लगायत विषयमा संस्थाका अध्यक्ष जालानसँग आर्थिक अभियानकी प्रतीक्षा कँडेलले गरेको कुराकानीको सार :
नेपालमा आईटी शिक्षाको गुणस्तर कस्तो छ ?
नेपालमा आईटी पढेका विद्यार्थीहरूले नेपालमा मात्र नभएर विश्वभरका विभिन्न मुलुकमा काम गरिरहेका छन् । त्यसैले नेपालको शिक्षाको गुणस्तर अन्य मुलुकभन्दा कम छैन । तर, विद्यार्थीले कलेजमा हुँदा कस्ता शीप सिकेका छन् र कस्तो दक्षता प्राप्त गरेका छन् भन्ने विषय महत्त्वपूर्ण हुन्छ ।
नेपालमा राम्रो शिक्षा नभएको भन्दै विद्यार्थीहरू विदेशिने गरेको पाइन्छ नि ?
नेपालमा नै पर्याप्त राम्रा कलेजहरू छन् । त्यसैले नेपाली विद्यार्थीहरू पढ्नका लागि विदेशिनुपर्ने अवस्था आजको दिनमा छैन । विद्यार्थीका लागि नेपालमा पार्टटाइम जब र इन्टर्नसिपको व्यवस्था गर्न आवश्यक छ । त्यसले भोलिका दिनमा कम्पनीलाई पनि फाइदा हुन्छ । अर्को नेपालमै रोजगारी पाइन्छ भन्ने सन्देश पनि जाने भएकाले विद्यार्थीलाई भोलिका दिनमा विदेशिनु नपर्ने अवस्था हुन्छ । विदेश जाने विद्यार्थीलाई सचेतना कार्यक्रममा सहभागी गराउन आवश्यक छ । सरकारले पनि यसलाई बुझाउन सक्नुपर्छ । सम्बद्ध निकायहरूले यसलाई रोक्ने भन्दा पनि सजक बनाउनेतर्फ काम गर्न आवश्यक छ ।
नेपालको र अन्य मुलुकको शिक्षामा कस्तो फरक पाउनुहुन्छ ?
शिक्षामा नेपालको र बाहिरको ‘डेलिभरी सिस्टम’ फरक छ । अन्य मुलुकका शैक्षिक संस्था व्यावहारिक शिक्षामा बढी केन्द्रित भएको पाइन्छ । यस्तै अन्य मुलुकमा विद्यार्थीको नियमित मूल्यांकन हुन्छ । तर, हाम्रोमा अहिले पनि परम्परागत शैली नै छ । हामी अहिले पनि विद्यार्थीलाई ३ घण्टाको परीक्षा लिएर उसको क्षमता मूल्यांकन गर्छौं । त्यसैले अब हामीले हाम्रो शिक्षाबारे र कुन किसिमको शिक्षा ठीक छ भनेर सोच्ने बेला आएको छ ।
आईटी पढेका विद्यार्थीलाई रोजगार बजारमा कस्ता अवसर छन् ?
आईटी शिक्षाको सबैभन्दा महत्त्वपूर्ण पक्ष नै शीप हो । त्यसैले विद्यार्थीसँग आईटी क्षेत्रको कुनै पनि किसिमको शीप वा दक्षता छ भने बजारमा सजिलैसँग काम पाउँछन् । उदाहरणका लागि, कुनै विद्यार्थीसँग ‘डटनेट’को दक्षता छ भने उक्त विद्यार्थीलाई त्यस क्षेत्रमा नै अथाह सम्भावना हुन्छ । त्यसैले विद्यार्थीले सम्बद्ध क्षेत्रमा अध्ययन गरेर अवसर पहिचान गरी त्यहीअनुरूप शीप विकास गर्न आवश्यक छ ।
नेपालमा मात्र नभएर विश्वभर नै आईटी क्षेत्रमा अवसर नै अवसर छ । आजभन्दा २५ वर्ष पहिले जापानको म्यापिङको डिजिटाइजेशनको काम नेपालमा हुन्थ्यो । त्यसैले नेपालमा अहिले पनि आईटी क्षेत्रका विद्यार्थीलाई आउट सोर्सिङ कम्पनीमा धेरै अवसर छन् । साथै बैंक, वित्त, बीमा कम्पनी, स्थानीय तहका निकायसम्म विद्यार्थीलाई अवसरै अवसर छन् । अन्य क्षेत्रको तुलनामा आईटी क्षेत्रमा आम्दानीको सम्भावना पनि बढी छ । हामीले रोजगार बजारको आवश्यकता पहिचान गरेर म्यापिङ गर्नुपर्छ । हामीले विद्यार्थीलाई कस्तो कस्तो खालको शीप चाहिन्छ, त्यहीअनुसारको शिक्षा अथवा तालीम दिन आवश्यक छ ।
- कम शुल्कमा धेरै विद्यार्थीलाई प्राविधिक शिक्षा कसरी दिन सक्छौं भनेर लागिपरेका छौं ।
- व्यवसाय गर्न चाहनेका लागि आईटी क्षेत्रले अहिले ठूलो सम्भावना र अवसर सृजना गरिदिएको छ ।
आईटीका नेपाली विद्यार्थीलाई अन्य मुलुकमा कस्तो अवसर छ ?
नेपाली विद्यार्थी विश्वभरका ठूला ठूला आईटी कम्पनीमा काम गरिरहेका छन् । सिलिकन भ्यालीस्थित ठूलाठूला कम्पनीदेखि जापान, भारतमा रहेका कम्पनीहरूमा यहाँका विद्यार्थीले काम गरिरहेका छन् । नेपालबाट हामीले दक्ष जनशक्ति बाहिर पठाउन सक्यौं भने हामीलाई दुईओटा फाइदा हुन्छ । पहिलो फाइदा– उक्त जनशक्तिले रेमिट्यान्समार्फत पैसा पठाउँछ । दोस्रो फाइदा– बजारमा हाम्रो छवि पनि निर्माण हुन्छ । साथै नेपालबाट पनि प्राविधिक मान्छे बाहिर गएर काम गर्न सक्छन् भन्ने सन्देश जान्छ ।
आईटी क्षेत्रमा विद्यार्थीहरू सफल हुन के के गर्नुपर्छ ?
आईटीको विद्यार्थी मात्र नभएर हरेक संकायका विद्यार्थीहरू सफल हुन सर्वप्रथम रचनात्मक हुनुपर्छ । त्यसपछि उनीहरूले आफ्नो रुचि भएको क्षेत्रमा शीप पनि विकास गर्दै लैजानुपर्छ । विद्यार्थीहरू सबैमा क्षमता हुने भएकाले विद्यार्थी उनीहरूको सफलतामा शिक्षकको पनि महत्त्वपूर्ण भूमिका हुन्छ । त्यसैले विद्यार्थीलाई सही सिप सिकाएर सही दिशा देखाउने काम भने शिक्षकले गर्नुपर्छ ।
आईटी शिक्षाका अन्य सम्भावना र अवसर के के हुन् ?
आईटी क्षेत्रले व्यवसाय गर्न चाहनेका लागि अहिले ठूलो सम्भावना र अवसर सृजना गरिदिएको छ । हामी अहिलेसम्म ‘जब सिकर’ मात्र भएका छौं । तर, अब ‘जब गिभर’ बन्ने बेला आएको छ । आईटीले उक्त सम्भावनाको ढोका खोलिदिएको छ । हामीले अहिले सामान्य वेबसाइट बनाएर घरमै बसेर विभिन्न किसिमको सामाजिक सञ्जालमा मार्केटिङ गरेर इकमर्श, ट्राभल एजेन्सीदेखि मिडिया कम्पनीसम्म खोल्न सक्छौं ।
आईटीको शीप सिक्न कलेज जानु पर्दैन भनिन्छ नि ?
कलेजमा विद्यार्थीलाई किताबको विषयवस्तु मात्र पढाइन्छ भन्ने गलत अवधारणा भएको पाइन्छ । तर, कलेजमा विद्यार्थीले विषयवस्तुका साथै महत्त्वपूर्ण जीवनोपयोगी शीप, समूहमा कसरी काम गर्ने, अनुशासनलगायत विविध कुरा पनि सिक्छन् । कलेजमा विद्यार्थीले आफूलाई रुचि भएको निश्चित क्षेत्रको विविध ज्ञान र शिक्षा प्राप्त गर्छन्, जुन कुरा कुनै पनि क्षेत्रमा सफल हुन सबैभन्दा बढी आवश्यक हुन्छ ।
कलेजमा पढ्न जाँदा विद्यार्थीले शिक्षकका साथै साथीसँग दोहोरो अन्तरक्रिया गर्न पाउँछन् । कुनै पनि विषयबारे अनलाइन माध्यमबाट भन्दा कलेजमा विद्यार्थीलाई नयाँ कुरा सिक्न, बुझ्न र कार्यान्वयन गर्न सहज हुन्छ ।
लर्ड बुद्धमा अहिले के कस्ता कोर्स छन् ?
लर्ड बुद्ध नेपालको पहिलो आइटी कलेज भएकाले हामीले शुरुआती दिनदेखि नै अध्ययन गरेर कम शुल्कमा धेरै विद्यार्थीलाई प्राविधिक शिक्षा कसरी दिन सक्छौं भनेर लागिपरेका छौं । त्यसैले हामीले नेपालको आईटी क्षेत्रमा नयाँ नयाँ कोर्स ल्याएर पढाउँदै आएका छांै । अहिले नेपालमा हाम्रोमा मात्रै क्लाउड इन्जिनीयरिङ पढाइ हुन्छ । त्यसबाहेक हामीले एमएससी इन इ–बिजनेश, एमबीए, एमएससी आईटीएम, बीएससी आईटी लगायतका कोर्स पढाउँदै आएका छौं । त्यस्तै हामी अहिले एमबीए डिजिटल लिडरसिप र एमबीए ग्लोबल बिजनेश कोर्स पनि ल्याउने तयारीमा छौं ।
लर्ड बुद्ध कलेजका विशेषता के के छन् ?
हाम्रोमा अध्ययनरत विद्यार्थीले तेस्रो वर्षमा ४ महीनाका लागि इन्टर्नसिपमा जानुपर्छ, जसकारण विद्यार्थीले कलेजमा पढेका कुरा व्यवहारमा उतार्न र अवसर पहिचान गर्न मद्दत गर्छ । हाम्रोमा पुस्तकालयमा १५ हजारभन्दा बढी किताब छन् । त्यसबाहेक १० ओटा अनलाइन लाइब्रेरीमा १० लाखभन्दा बढी किताबको पहुँच पनि दिएका छौं ।
लर्ड बुद्धको २५ वर्षको यात्रालाई कसरी सम्झनुहुन्छ ?
शुरूमा हामीले ८ वर्ष कलेज घाटामा चलाएका थियौं । त्यस बेला नीतिनियम केही पनि थिएन, जसकारण हामीले धेरै संघर्ष गर्नु परेको थियो । तर, विद्यार्थी, अभिभावक र शुभचिन्तकहरूको विश्वासको कारण आज हामी यहाँसम्म पुग्न सफल भएका छौं । त्यसबेला त्रिभुवन विश्वविद्यालय र सरकारको विभिन्न निकायमा कार्यरत कर्मचारीको उत्तिकै योगदान छ ।