ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

७६ जिल्लामा पुग्यो राष्ट्रिय प्रणालीको विद्युत्

२०८० भदौ, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। नेपालको ७६ जिल्लामा राष्ट्रिय प्रणालीको विद्युत्को पहुँच पुगेको छ । कर्णाली प्रदेशको मुगुमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएसँगै विद्युत्को राष्ट्रिय प्रणालीमा जोडिएका जिल्ला ७६ ओटा पुगेका हुन् ।

नेपाल विद्युत् प्राधिकरणले कालिकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मा भन्ने स्थानमा ‘ट्यापिङ’ गरी मुगुको सदरमुकाम गमगडीसम्म विद्युत् पुर्‍याएको हो । यसका लागि करीब ८५ किलोमिटर लाइन निर्माण गरिएको छ । प्राधिकरणले आइतवारदेखि गमगडीलगायत क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति दिन शुरू गरेको छ । 

प्राधिकरणले ४०० किलोवाट जडित क्षमताको गमगाड साना जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गरी गमगढी र आसपासका क्षेत्रमा विद्युत् आपूर्ति गर्दै आएको थियो । अब कर्णाली प्रदेशको हुम्ला जिल्ला मात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिन बाँकी छ । हुम्लामा राष्ट्रिय प्रसारण लाइनमा पुर्‍याउन ठेक्का सम्झौता सम्पन्न भई ‘सर्भे’ भइरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले साना जलविद्युत् समय समयमा बन्द हुँदा मुगुमा हुने विद्युत् आपूर्तिको समस्या राष्ट्रिय प्रसारण लाइन पुगेपछि समाधान हुने जानकारी दिए । उनले राष्ट्रिय प्रसारण लाइन पुगेकाले विद्युतीकरण तीव्र रूपमा अगाडि बढाइने बताए । हाल मुगुमा प्राधिकरणका ३ हजार ५०० घरधुरी ग्राहक छन् । गतवर्षको असोजमा आएको विनाशकारी वर्षाका कारण गमगाड साना विद्युत्गृहमा क्षति पुग्दा विद्युत् उत्पादन बन्द भएको थियो । प्राधिकरणले तत्कालै ‘डिजेल जेनेरेटर’ जडान गरी विद्युत् आपूर्ति दिएको थियो । भारी वर्षासँगै आएको बाढीपहिरोले छायाँनाथ रारा नगरपालिका–४ स्थित विद्युत्गृहको ११०० मिटर लामो नहरमध्ये झण्डै ७०० मिटरमा क्षति पुर्‍याएको थियो ।

यसैगरी, बाढीपहिरोबाट विद्युत्गृहको सबस्टेसनका संरचनामा पनि क्षति पुगेको थियो । बाढीपहिरोले क्षति पुर्‍याएको नहरको पुनर्निर्माण र मर्मतपछि विद्युत्गृह सञ्चालनमा ल्याइएको थियो । मुगुको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय बनाउन गमगाडमा ३३/११ केभी सबस्टेसन र ११ केभीको लाइनलाई ३३ केभीमा स्तरोन्नति गर्ने कार्य भइरहेको प्राधिकरण, कर्णाली प्रदेश कार्यालयका प्रमुख शम्भु कुसियत यादवले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)