ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘डब्ल्यूटीओ चेयर्स प्रोग्राम’का अनुसन्धानको निष्कर्ष प्रस्तुत

२०८० भदौ, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । विश्व व्यापार संगठनको ‘डब्ल्यूटीओ चेयर्स प्रोग्राम–नेपाल’को आर्थिक सहयोगमा अनुसन्धानकर्ताहरूले तयार पारेको अनुसन्धानको निष्कर्ष प्रस्तुत गरिएको छ । आइतवार काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (कुसोम)मा आयोजित कार्यक्रममा काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार डा. अच्युत वाग्ले, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेल र विभिन्न प्राध्यापक तथा शिक्षाविद्को उपस्थितिमा उनीहरूले आफ्नो अनुसन्धानको निष्कर्ष प्रस्तुत गरेका हुन् । 

सन् २०२२ मा डब्ल्यूटीओ चेयर्स प्रोग्रामले नेपालमा व्यापार तथा उद्यम व्यवसायसँग सम्बन्धित चारओटा अनुसन्धानका लागि अनुदान प्रदान गरेको थियो । कुसोमका सहायक प्राध्यापक सबिना बानियाँ क्षेत्री र दिपेश कार्कीले नेपालका चितवन र इलाममा जलवायु परिवर्तन, लैंगिक गतिशीलता र नगदे बाली उत्पादनको जटिलताबारे अनुसन्धान गरेका थिए । उनीहरूको अनुसन्धानले यी क्षेत्रहरूमा नगदे बाली उत्पादनका लागि कृषकले सामना गर्नुपरेका विविध चुनौतीहरू उजागर गरेका छन् ।

यसैगरी विनायक मल्ल, माल्गोरजाता कुक्जारा, सविनविक्रम पन्त र ठाकुरप्रसाद देवकोटाले गरेको अनुसन्धानले नेपालको हिमाली क्षेत्रको पर्यटनमा जलवायु परिवर्तनले गहिरो असर पारेको देखाएको छ । उनीहरूको अनुसन्धानमा बढ्दो अप्रत्याशित र अनियमित मौसमले पर्यटन व्यवसायमा ठूलो चुनौती सृजना गरेको उल्लेख छ ।

‘जलवायु परिवर्तनको प्रतिकूल प्रभावले स्थानीय जीवजन्तु र वनस्पतिमा ह्रास ल्याएको छ, अप्रत्याशित रूपमा औसममा आउने परिवर्तनले यात्रा योजना अवरुद्ध हुने गरेका छन्, हिमाली क्षेत्रमा लामखुट्टे र यसअघि नदेखिएका रोगकीराको प्रकोपले चिन्ता थपेको छ,’ अनुसन्धानमा भनिएको छ, ‘मानिसहरू जलवायु परिवर्तनको वर्तमान प्रभावसँग जुधिरहेका मात्र छैनन्, वातावरणीय चुनौतीको सामना गर्दै आफ्नो भविष्यप्रति निकै चिन्तित छन् ।’

यसैगरी डा. राजेश शर्मा र प्रजोल जोशीले गरेको अध्ययनमा नेपालका निर्यातमुखी फर्मले दिगो व्यावसायिक अभ्यास (एसबीपी)लाई आफ्नो रणनीतिमा समेट्नुपर्ने ठहर गरेको छ । एसबीपीको कार्यान्वयनले उत्पादनमा विविधीकरण, बजारमा सहजीकरण र वित्तीय कार्यसम्पादन मार्फत प्रतिस्पर्धात्मक अग्रता प्रदान गर्न सक्ने अनुसन्धानको निष्कर्ष छ ।

यस्तै दीपशिका गुरुङले काठमाडौंका महिला लघु उद्यमीहरूको अवस्थाबारे अनुसन्धान गरेकी थिइन् । उनको अनुसन्धानले महिला लघु उद्यमीहरूको व्यावसायिक शीप प्रवर्द्धनका लागि सूचना तथा सञ्चार प्रविधि (आईसीटी)को प्रयोगको उच्च आवश्यकता देखाएको छ । साथै इन्टरनेट र सूचनाप्रविधिको प्रयोगले यस्ता व्यवसायमा ठूलो परिवर्तन ल्याएको निष्कर्ष उक्त अनुसन्धानको छ ।

कुसोमले यस वर्ष स्नातक, एमफिल र पीएचडी तथा स्वतन्त्र अनुसन्धानकर्तालाई विभिन्न ६ विषयमा अनुसन्धानका लागि प्रस्ताव आह्वान गरेको छ । कुसोमले डब्लुटीओ चेयर्स प्रोग्रामअन्तर्गत अनुसन्धानका लागि अनुदान दिन लागेको हो । यसका लागि यही सेप्टेम्बर १५ सम्मको समयसीमा तोकेर प्रस्ताव आह्वान गरिएको हो । प्रत्येक अनुसन्धानका लागि रू. २ लाख अनुदान समेत प्रदान गरिनेछ ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पौडेलले ‘डब्ल्यूसीपी–नेपाल रिसर्च ग्रान्ट २०२३’ का लागि आफ्नो अनुसन्धान विषयका कागजपत्र पेश गर्न अनुसन्धानकर्तालाई आग्रह गरे । अनुसन्धानको नतीजाले समाज र सिंगो देशका लागि ठूलो फाइदा हुने पनि उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)