ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिटिजन लाइफको आईपीओ सर्वसाधारणमा बिहीवार बाँडफाँट हुँदै 

२०८० भदौ, २६  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले भदौ १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणमा विक्री गरेको आईपीओ बाँडफाँट मिति तय गरेको छ । विक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडले भदौ २८ गते बिहीवार दिउँसो २ बजे आईपीओ बाँडफाँटको तयारी गरेको हो ।

कम्पनीले सर्वसाधारणमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत १४४ रुपैयाँ थप गरी प्रतिकित्ता २४४ रुपैयाँमा ९० लाख कित्ता आईपीओ विक्री गरेको छ । भाग्यमानी ९ लाख लगानीकर्ताले गोलाप्रथाको माध्यमबाट १०÷१० कित्ताका दरले कम्पनीको आईपीओ प्राप्त गर्नेछन् । 

कम्पनीको आईपीओ खरीदका लागि १५ लाखभन्दा बढीको आवेदन परेको जानकारी विक्री प्रबन्धकले दिएको छ । यस आधारमा ६ लाखभन्दा बढी आवेदकहरूको हात भने खाली हुने देखिएको छ ।

सर्वसाधारणमा आफ्नो जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत आईपीओ विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको कम्पनीले कर्मचारीमा प्रतिशेयर १०० रुपैयाँमा ५ लाख ६२ हजार ५०० कित्ता आईपीओ विक्री बाँडफाँट गरिसकेको छ । योबाहेक १ करोड ६ लाख ८७ हजार ५०० कित्ता आईपीओमध्ये ११ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र ५ लाख ६२ हजार ५०० कित्ता सामूहिक लगानीकोषका लागि समेत बाँडफाँट गरिएको छ ।

यो कम्पनी नयाँ जीवन बीमा कम्पनीको रूपमा २०७४ कात्तिक २ गतेदेखि सञ्चालनमा छ । २०६४ असार १२ गते पब्लिक कम्पनीको रूपमा दर्ता भएको यो कम्पनीले २०७४ भदौ ७ गते जीवन बीमासम्बन्धी कारोबार गर्न साविक बीमा समितिबाट स्वीकृति पाएको थियो । 

हाल कम्पनीले ४६ कार्यालय तथा ९४ उपशाखा कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ । कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंको थापाथलीमा छ । कम्पनीलाई ५ अर्ब रुपैयाँ चुक्ता पूँजी कायम गर्नुपर्ने बाध्यात्मक अवस्था छ । जीवन बीमा कम्पनीका लागि ५ अर्ब चुक्ता पूँजी कायम गर्नुपर्ने व्यवस्था रहेकाले कम्पनीलाई पनि तोके बमोजिमको पूँजी कायम गर्नुपर्ने भएको हो । 

हाल संस्थापक तर्फबाट चुक्ता भएको पूँजी २ अर्ब ६२ करोड ५० लाख रुपैयाँ छ । सर्वसाधारण तर्फको सम्पूर्ण कित्ता आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७५ करोड रुपैयाँ कायम हुनेछ । 

आईपीओपछि कम्पनीलाई थप १ अर्ब २५ करोड पूँजी आवश्यक हुन्छ । कम्पनीले चालू आर्थिक वर्ष ०८०÷८१ भित्र ५ अर्ब चुक्ता पूँजी कायम गर्ने प्रक्षेपण गरेको छ । कम्पनीको प्रक्षेपणलाई आधार मान्दा थप पूँजी बोनस शेयरमार्फत पु¥याउने योजना रहेको देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)