काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक क्षेत्रमा सुधार हुन थालेसँगै अटो व्यवसायमा पनि त्यसको संकेत देखिन थालेको बताएका छन् । मंगलवार नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालद्वारा आयोजित ‘नाडा अटो शो २०२३’ उद्घाटन गर्दै अर्थमन्त्री महतले अटो व्यवसायीलाई आशावादी हुन आग्रह समेत गरे ।
‘आर्थिक गतिविधि विस्तारै बढ्दै जाने ठोस आधार देखिन थालेका छन् । विदेशी विनिमय सञ्चितिका साथै विदेशी पर्यटक पनि बढेका छन्,’ उनले भने, ‘अटो क्षेत्रका समस्या पनि समाधान हुँदै गएका छन् । त्यसैले अब यो व्यवसाय पनि बढ्छ ।’
नाडा अब डिलरको संघभन्दा पनि उत्पादकको संघ बन्नुपर्ने अर्थमन्त्री महतले बताए । ‘एसेम्बलिङ शुरू गर्नेलाई सरकारले सहुलियत दिन्छ । नेपालमा मोटरसाइकलको एसेम्बलिङ शुरू भएकाले गाडीको पनि शुरू गर्नुुपर्छ,’ उनले भने । नाडाका अध्यक्ष ध्रुव थापाले चाडबाडलाई ध्यानमा राखेर आयोजना हुँदै आएको शोमा वर्षभर हुनेमध्ये ६० प्रतिशत व्यापार हुने बताए । यसपटक ६ दिनसम्म चल्ने मेलामा २० अर्ब रुपैयाँ बराबरको कारोबार हुने अनुमान रहेको उनले बताए । अटो क्षेत्र विभिन्न नीतिका कारण प्रभावित हुँदै आएकाले सहज नीतिको समेत खाँचो उनले औंल्याए ।
‘आर्थिक गतिविधि विस्तारै बढ्दै जाने ठोस आधार देखिन थालेका छन् । विदेशी विनिमय सञ्चितिका साथै विदेशी पर्यटक पनि बढेका छन्,’ अर्थमन्त्री महतले भने, ‘अटो क्षेत्रका समस्या पनि समाधान हुँदै गएका छन् ।
मेलामा सवारीसाधन, पार्टपुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघसंस्थाको प्रदर्शनी रहेको छ । आयोजकका अनुसार प्रदर्शनीमा ठूला तथा साना गरी करीब १२० ओटा स्टल तथा ब्लक छन् ।
प्रदर्शनीमा १६ ओटा ब्राण्डका चारपांग्रे, २२ ओटा ब्राण्डका दुईपांग्रे, सातओटा ब्राण्डका लाइट कमर्सियल भेहिकल, ९ ओटा वित्तीय संस्था, ३० ओटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीको सहभागिता छ । प्रदर्शनीलाई बढी जानकारीमूलक, सेवामूलक र ग्राहकमुखी बनाउन मिडियाका लागि छुट्टै स्टलको व्यवस्था गरिएको छ । साथै ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धी सूचना–कक्ष समेत राखिएको छ ।
‘नाडा अटो सो २०२३’लाई टाटा मोटर्स जेनुइन आयलले प्रायोजन गरेको छ । मेलाको सहप्रायोजकमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । प्रदर्शनीको डोर प्राइजमा याडिया, टिकेटिङ पार्टनरमा खल्ती, अफिसियल इन्टरनेट पार्टनरमा वल्र्डलिङ्क, फायर सेफ्टी सपोर्टमा हिट्को प्रालि, हस्पिटल पार्टनरमा फ्रन्टलाइन हस्पिटल जस्ता प्रतिष्ठित संस्था छन् । प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरेको छ ।