ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ६१ औं वार्षिकोत्सव विशेष: लाभांश वितरणमा साल्ट ट्रेडिङ कर्पोरेशनको निरन्तरता

२०८० भदौ, २७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले गत आवको चौथो त्रैमाससम्म ७ करोड ८८ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेकोे छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ९८ लाख रुपैयाँभन्दा बढी मात्र खुद नाफा गरेको थियो ।

काठमाडौं। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आम लगानीकर्तालाई निरन्तर लाभांश वितरण गर्दै आएको छ । पछिल्लो दश आव (आव)मा कम्पनीले निरन्तर लाभांश वितरण गर्दै आएको देखिएको हो । धितोपत्र दोस्रो बजारमा व्यापारिक समूह अन्तर्गत यो कम्पनी सूचीकृत रहेको छ । कम्पनीले आव २०६७/६८ देखि नै लाभांश वितरण गरेको तथ्यांक छ । उक्त वर्ष ३५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १० प्रतिशत नगद लाभांश समेत कुल ४५ प्रतिशत लाभांश कम्पनीले वितरण गरेको थियो ।

सो लाभांश हालसम्मकै उच्च रहेको थियो । पछिल्लो दश आवको तथ्यांक हेर्दा भने अधिकतम ३५ प्रतिशतसम्म लाभांश वितरण गरेको देखिन्छ । आव २०७३/७४ देखि २०७५/७६ सम्म कम्पनीले समान कुल ३५ प्रतिशत लाभांश वितरण गरेको थियो । ती तीन आवमा कम्पनीले २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १० प्रतिशत नगद लाभांश वितरण गरेको हो । लाभांश वितरणमा निरन्तरता दिएको कम्पनीको पछिल्ला आवमा भने लाभांश दर घटेको छ ।

२० प्रतिशतभन्दा माथि नै लाभांश वितरण गर्दै आएको कम्पनीले अघिल्ला दुई आवमा भने २० प्रतिशतभन्दा कम लाभांश वितरण गरेको हो । आव २०७७/७८ मा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश गरी कुल १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गरेको कम्पनीले आव २०७८/७९ को मुनाफाबाट भने १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गरेको हो ।

गत आवको लाभांश घोषणा हुन बाँकी 

कम्पनीको गत आव २०७९/८० को लाभांश भने सार्वजनिक हुन बाँकी छ । गतवर्ष पुस २८ गते १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो । यस वर्ष कम्पनीले आकर्षक लाभांश दिनेमा लगानीकर्ता विश्वस्त रहेका छन् । व्यापार समूह अन्तर्गतको यस कम्पनीप्रति लगानीकर्ता उत्साहित रहेको भनाइ समेत घिमिरेको छ । अघिल्ला दुई वर्ष कम्पनीको लाभांश दर २० प्रतिशतभन्दा कम भए पनि आगामी वर्ष बढाएर लैजाने विश्वास घिमिरेले गरेका छन् । पुरानो र विश्वासिलो कम्पनी भएकाले पनि लगानीकर्ता यो कम्पनीप्रति आशावादी रहेको उनले बताए ।

दोस्रो बजारमा कम्पनीको शेयरमूल्य ५ हजारभन्दा माथि

हाल धितोपत्र दोस्रो बजारमा व्यापारिक समूह अन्तर्गत दुई कम्पनी मात्र सूचीकृत छन् । साल्ट ट्रेडिङ कर्पोरेशन र विशाल बजार कम्पनी व्यापारिक समूह अन्तर्गत सूचीकृत कम्पनी हुन् । शेयर कारोबारको हिसाबमा पनि यो कम्पनी अग्र स्थानमै छ । कम्पनीले वितरण गर्ने प्रतिफल र बजार मूल्य हेरेर नै लगानीकर्ताहरू कारोबारमा सहभागी हुने गर्दछन् । यसैकारण विशाल बजार कम्पनीको तुलनामा साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्य बढी रहेको छ । व्यापारिक समूह अन्तर्गतका यी दुई कम्पनीलाई तुलना गर्दा विशाल बजार कम्पनीको शेयरमूल्य ४ हजार रुपैयाँभन्दा कम छ भने साल्ट टे्रडिङ कर्पोरेशनको शेयरमूल्य ५ हजार रुपैयाँभन्दा बढी रहेको छ । भदौ २६ गतेसम्मको कारोबारमा साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्य प्रतिकित्ता ५ हजार ६६५ रुपैयाँ र विशाल बजार कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३ हजार ७६५ रुपैयाँ रहेको छ । दोस्रो बजारमा विशाल बजारको ४ लाख ९१ हजार ४०० कित्ता र साल्ट ट्रेडिङ कर्पोरेशनको २७ लाख ८८ हजार ८४४ कित्ता शेयर सूचीकृत रहेको छ ।

कम्पनी करीब ८ करोड खुद नाफामा 

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले गत आवको चौथो त्रैमाससम्म ७ करोड ८८ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेकोे छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ९८ लाख रुपैयाँभन्दा बढी मात्र खुद नाफा गरेको थियो । अघिल्लो आवको तुलनामा गत आवको चौथो त्रैमाससम्ममा कम्पनीको खुद नाफामा ५८ प्रतिशत वृद्धि भएको हो ।

गत आवमा कम्पनीको आम्दानीमा वृद्धि भएसँगै खुद नाफा बढ्न पुगेको हो । अघिल्लो आवमा कम्पनीले सामान विक्रीबाट ७ अर्ब १७ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेकोमा गत आवमा ८ अर्ब ७८ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएको छ । गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको जगेडा कोषको रकम १ अर्ब ३६ करोड ५६ लाख रुपैयाँभन्दा बढी कायम छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २८ रुपैयाँ २६ पैसा र प्रतिशेयर नेटवर्थ ४१९ रुपैयाँ ६ पैसा छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)