शिलान्यास समारोहमा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको जलविद्युत् विकासमार्फत आर्थिक रूपमा समृद्धि प्राप्त गर्न यस क्षेत्रमा सरकारले स्वदेशी तथा विदेशी लगानीका लागि वातावरण बनाइरहेको बताए । मुख्य रूपमा हिउँदको विद्युत् माग पूरा गर्न आकर्षक रहेकाले यसलाई नमूना आयोजनाका रूपमा तोकिएकै समयमा सम्पन्न गर्न आवश्यक सहजीकरण गरिने पनि उनले बताए । मन्त्री बस्नेतले जलविद्युत् क्षेत्रमा लगानी बढाउन स्वदेशी तथा विदेशी लगानीकर्तालाई आग्रह गरे ।
आयोजनाको मुख्य लगानीकर्ता कोरिया साउथ–इस्ट पावर (कोइन) का प्रमुख कार्यकारी अधिकृत होउ चुन किमले नेपालको अपार जलस्रोतको प्रयोग गरी स्वच्छ हरित ऊर्जाको आन्तरिक रूपमा खपत बढाई बढी भएको ऊर्जा छिमेकी देशमा निर्यात गरी आर्थिक समृद्धि प्राप्त गर्न र जलवायु परिवर्तनको असर न्यूनीकरणमा ठूलो योगदान गर्न सकिने बताए ।