काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपीजे)ले २६ औं वार्षिकोत्सवको अवसरमा फोटो पत्रकारहरूलाई सम्मान गर्ने भएको छ । एनएफपीजेको भाद्र २१ गते बसेको केन्द्रीय कमिटी बैठकले आगामी असोज ६ गते काठमाडौंमा हुन लागेको साधारणसभामा अग्रज फोटो पत्रकारहरूलगायतलाई सम्मान गर्ने निर्णय गरेको हो ।
बैठकले श्रीधरलाल मानन्धर, शेखर चौलागाई, राम गुरुङ र प्रविण श्रेष्ठलाई वरिष्ठ फोटो पत्रकारको रूपमा सम्मान गर्ने निर्णय गरेको एनएफपीजेले जनाएको छ ।
त्यस्तै, एनएफपीजे ५ विधामा हरिगोपाल प्रधान फोटो पत्रकारिता सम्मान, प्रेसिडेण्ट अवार्ड, माधव थापा साहसिक फोटो पत्रकारिता पुरस्कारबाट सम्मानित हुनेहरूको नामसमेत टुंगो लगाएको छ । जसमध्ये हरिगोपाल प्रधान पुरस्कार तथा पदकमा संस्कृति सम्पदातर्फ रत्न श्रेष्ठ, साहसिक फोटो पत्रकार पुरस्कार कल्पना महर्जन, पर्या–पर्यटनतर्फ अम्बिर तोलाङ्, मनोरञ्जनतर्फ सुरजकुमार श्रेष्ठ र खेलतर्फ विजय महर्जनलाई दिने निर्णय गरेको छ ।
माधव थापा साहसिक फोटो पत्रकार पुरस्कार नगद १० हजारसहित मुकुन्द कालीकोटलाई सम्मान गर्ने र कार्यसम्पादनको आधारमा संस्थाका कोषाध्यक्ष लेखबहादुर (सागर) श्रेष्ठ लाई प्रेसिडेन्ट अवार्ड दिने निर्णयसमेत गरेको छ ।
सोही अवसरमा संस्थाले विभिन्न समयमा आयोजना गरेको कार्यक्रममा सहयोग गर्ने संघसंस्थालाई पनि सम्मानपत्र उपलब्ध गराउने निर्णय गरेको छ ।