ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२ हजार विन्दुमाथि उक्लियो नेप्से, बजारका सबै सूचक हरियो

२०८० भदौ, २७  
लगानी नेप्से विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सात कारोबार दिनपछि नेप्से परिसूचक २ हजार विन्दुमाथि उक्लिएको छ । भदौ १८ गतेपछिको कारोबारमा नेप्से परिसूचक २ हजार विन्दुभन्दा तल रहेको थियो । भदौ २७ गते बुधवार नेप्से परिसूचक २ प्रतिशत वृद्धि भई २ हजार ७ दशमलव ४८ विन्दुमा बन्द भएको हो ।

गत मंगलवार भने १९ दशमलव ४२ अंक घटेर नेप्से परिसूचक १ हजार ९९८ दशमलव ५४ विन्दुमा बन्द भएको थियोे । बुधवार नेप्से परिसूचक अंकको हिसाबमा ३९ दशमलव ४८ अंक बढेको हो ।

धितोपत्र दोस्रो बजार सूचनाको बजार भएकाले पनि बुधवार सकारात्मक समाचारहरू बाहिरिएसँगै लगानीकर्ताहरू उत्साहित बनेका छन् । बुधवार शेयर धितो कर्जामा लगाइएको अधिकतम १२ करोड रुपैयाँको सीमा संस्थागत लगानीकर्ताको हकमा हटाउन अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्देशन दिएको समाचार सार्वजनिक भएको थियो । अर्थमन्त्री डा. महतले शेयर धितो कर्जामा संस्थागत लगानीकर्ताको हकमा कुनै पनि सीमा नलागाउने गरी व्यवस्था गर्न अर्थमन्त्रालयबाट नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सदस्यलाई निर्देशन दिएको खबर बाहिरिएको थियो ।

नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा अधिकतम १२ करोड रुपैयाँसम्म मात्र कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरेसँगै धितोपत्र दोस्रो बजार प्रभावित बन्दै आएको छ । 

बुधवारको कारोबारमा नेप्से परिसूचकसँगै बजारमा सबै समूहगत परिसूचक समेत बढेका छन् । यो दिन जलविद्युत समूहको परिसूचक सर्वाधिक ३ दशमलव ६२ प्रतिशत बढेको छ । त्यस्तै वित्तको ३ दशमलव २० प्रतिशत, विकास बैंकको २ दशमलव ८८ प्रतिशत, होटल्स तथा पर्यटनको २ दशमलव ८७ प्रतिशत, जीवन बीमाको २ दशमलव ५४ प्रतिशत, निर्जीवन बीमाको २ दशमलव २९ प्रतिशत, अन्यको २ दशमलव १५ प्रतिशत, व्यापारिकको २ दशमलव शून्य १ प्रतिशत, उत्पादन तथा प्रशोधनको २ प्रतिशत, लघुवित्तको १ दशमलव ९४ प्रतिशत, लगानीको १ दशमलव ७० प्रतिशत, बैंकिङको शून्य दशमलव ९९ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव शून्य १ प्रतिशत परिसूचक बढेको हो ।

बुधवार तीन जलविद्युत कम्पनीसहित चार कम्पनीको शेयर मूल्य उच्च दरमा बढेको छ । बरुण हाइड्रोपावर कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने शुभम् पावरको ९ दशमलव ९९ प्रतिशत, समता घरेलु लघुवित्तको ९ दशमलव ८६ प्रतिशत र अरुण काबेली पावरको ९ दशमलव शून्य ३ प्रतिशत शेयर मूल्य बढेको छ । 

यो दिन थ्री स्टार हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक ८ प्रतिशत घटेको छ । मंगलवार पनि थ्री स्टार हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक घटेको थियो ।

बुधवारको कारोबारमा नेप्से परिसूचकसँगै ठुला कम्पनीहरूको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स २ दशमलव शून्य २ प्रतिशत बढेको छ । यस दिन सेन्सेटिभ इन्डेक्स ३८६ दशमलव ८१ विन्दुमा पुगेको हो । 

बुधवार २१३ कम्पनीको धितोपत्रको मूल्य बढेसँगै कुल बजार पूँजीकरण ३० खर्ब ४ अर्ब ६२ करोड ५२ लाख रुपैयाँ कायम भएको छ । मंगलवार २९ खर्ब ४५ अर्ब ५० करोड ८३ लाख रुपैयाँ कायम भएको कुल बजार पूँजीकरण बुधवार एकै दिन ५९ अर्ब ११ करोड ६९ लाख रुपैयाँले बढेको हो ।

बुधवार परिसूचकहरूसँगै कारोबार रकमसमेत बढेको छ । मंगलवार १ अर्ब १३ करोड ५० लाख रुपैयाँभन्दा बढीको ३९ लाख १६ हजार १६१ कित्ता धितोपत्र कारोबार भएकोमा बुधवार १ अर्ब ४९ करोड ५५ लाख रुपैयाँभन्दा बढीको ५१ लाख ४४ हजार ७२४ कित्ता धितोपत्र कारोबार भएको हो । 

कुल कारोबार रकममा यो दिन एनआईसी एशिया बैंकको सर्वाधिक हिस्सा छ । यो बैंकको ७ करोड ९३ लाख २५ हजार रुपैयाँ बराबरको ९७ हजार ९०३ कित्ता धितोपत्र कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको एनआईसी एशिया बैंकको शेयर मूल्य बुधवार ३ दशमलव ३४ प्रतिशत बढेर प्रतिकित्ता ८१९ रूपैयाँ कायम भएको छ ।

अघिल्लो दुई आर्थिक वर्ष लाभांश वितरणमा रोक लागेको यस बैंकले यस वर्ष आकर्षक लाभांश वितरण गर्ने अपेक्षा लगानीकर्ताले गरेको देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)