ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बेसार निर्यातको सम्भावना र हाम्रो यथार्थ

२०८० भदौ, २८  
टिप्पणी
Aarthik Abhiyan 18th Anniversary Image Not Found

रूकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा रहेको त्रिवेणी श्रम सहकारी संस्थाले यहाँ उत्पादन भएका बेसार जर्मनी निर्यात गर्ने तयारी थालेको छ । पालिकामा प्रशोधन केन्द्र स्थापना गरेको सहकारीले मङ्सिरदेखि जर्मनीमा बेसार निर्यात गर्ने तयारी थालेको हो । व्यापारघाटा उच्च रहेको नेपालले निर्यात सम्भावना भएका वस्तुहरूको खोजी गरी तिनलाई प्रवर्द्धन र प्रोत्साहन गर्ने नीति लिएको अवस्थामा बेसार पनि निर्यातयोग्य वस्तुका रूपमा देखापरेको हो । 

नेपालमा परम्परागत रूपमा घरायसी प्रयोजनका लागि बेसार खेती गरिँदै आएको छ र प्रयोग पनि हुँदै आएको छ । तर, व्यावसायिक रूपमा यसको खेती खासै हुन सकेको छैन । अदुवा नेपालबाट निर्यात हुने कृषि वस्तुमा महत्त्वपूर्ण बनिरहेको अवस्थामा बेसार पनि सम्भावनाको क्षेत्र देखापरेको हो । त्रिवेणी गाउँपालिकाले अहिले जर्मनी निर्यात गर्न पहल गरे पनि यसअघि नै जर्मनी र स्पेनमा बेसार निर्यात हुँदै आइरहेको पाइन्छ । सल्यानबाट मात्रै वार्षिक ३ करोडको बेसार निर्यात हुँदै आएको पाइन्छ । अमेरिका विश्वकै सर्वाधिक बेसार आयात गर्ने मुलुक रहेको तथ्यांक व्यवस्थापन गर्ने तथा विश्लेषण गर्ने अमेरिकी अनलाइन स्टाटिस्टिका डट कमले देखाएको छ । त्यसपछि प्रमुख आयातकर्ता र निर्यातकर्ता देश भारत रहेको छ । बंगलादेश, युनाइटेड अरब इमिरेट्स र जर्मनी त्यसपछिका बेसार आयातकर्ता मुलुक हुन् । भारतले आयात पनि गर्छ र निर्यात पनि गर्छ । नेपालले विश्व व्यापारमा बेसारको केही अंश लिन सक्ने हो भने निर्यात राम्रै आँकडामा हुने देखिन्छ । भारतले कुल निर्यातको ६२ प्रतिशत अंश ओगट्छ । नेपालमा उत्पादन हुने अदुवा भारत निर्यात हुन्छ र भारतले अन्य मुलुकमा निर्यात गर्छ । बेसार पनि भारतमा निर्यात हुन सक्छ । तर, नेपालमा बेसारको उत्पादन निकै कम छ । खासमा नेपालमा बेसारको व्यावसायिक खेती भएको छैन भन्दा पनि हुन्छ । त्यसैले नेपालले भारतलगायत विभिन्न मुलुकबाट बेसार आयात गर्छ । नेपालमा इथियोपियाबाट समेत बेसार आयात हुने गरेको छ । अघिल्लो हप्तामात्रै भियतनामबाट चीनको बाटो हुँदै एक कन्टेनर बेसार आयात भएको छ । निर्यात सम्भावनाको कुरा गरिरहँदा यसले बेसारको उत्पादनलाई गिज्याइरहेको छ ।

बेसार खेती सहज भए पनि बजारको सहज पहुँच नभएको र यसबाट राम्रो आम्दानी गर्न सकिने कुरा पर्याप्त जानकारी नभएकाले फस्टाउन सकेको छैन ।

बेसार खेतीका लागि विशेष माटोको जरूरत पर्दैन । यो खोलाको बगरमा समेत खेती हुन्छ । अहिले मुलुकभर बाँदरका कारण धेरै बालीको खेती गर्न समस्या भइरहेको छ । तर, बेसार खेती गर्ने हो भने बाँदरले केही पनि असर गर्दैन । यो नगदे बाली भएकाले यसलाई व्यावसायिक रूप दिन सहज पनि छ । बेसार खेती सहज भए पनि बजारको सहज पहुँच नभएको र यसबाट राम्रो आम्दानी गर्न सकिने कुरा पर्याप्त जानकारी पनि नभएकाले बेसार खेती फस्टाउन सकेको छैन । बजारका लागि सहकारी सशक्त माध्यम भएकाले सहकारीमार्फत यसको खेती, संकलन र प्रवर्द्धन गरी निर्यात रणनीति लिने हो भने बेसार निर्यातको मात्रा बढाउन सकिन्छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)