ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सूचक हेरेर मख्ख सरकार

२०८० भदौ, २८  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं। धरातलीय वास्तविकता फरक भए पनि सरकार आर्थिक परिसूचकहरू हेरेर रमाइरहेको पाइएको छ । बुधवार सार्वजनिक गरिएको मन्त्रालयगत प्रगति विवरण समेटिएको ‘रिपोर्ट कार्ड’मा आर्थिक परिसूचकहरूमा ‘राम्रो सुधार’ आएको उल्लेख गरेर सरकारले अर्थतन्त्रको वर्तमान अवस्थाप्रति सन्तुष्टि प्रकट गरेको हो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको समीक्षा’ कार्यक्रममा चालू आर्थिक वर्षको साउनको र अघिल्ला दुई आर्थिक वर्षको प्रगति तुलना गरिएको रिपोर्ट कार्ड सार्वजनिक गरिएको थियो ।

रिपोर्ट कार्डमा विदेशी मुद्रा सञ्चिति र रेमिट्यान्स आप्रवाह बढेको, शोधनान्तर स्थिति बचतमा गएको, व्यापारघाटाको आकार घटेकोलगायत तथ्यांकलाई सकारात्मक संकेत मानिएको छ । निजीक्षेत्रले भने बजार माग घट्दा उद्योगहरूको उत्पादन घटाउनु परेको, आर्थिक गतिविधि सुस्ताउँदा धान्नै मुश्किल परेको जस्ता गुनासो गरिरहेको छ । 

सरकारी तथ्यांकहरूले नै पनि सहज अवस्थाको संकेत गर्दैनन् । आयात–निर्यात अघिल्लो वर्षको तुलनामा घटेको छ । बजेटले अघिल्लो वर्षको यथार्थको तुलनामा ४८ प्रतिशतभन्दा धेरैले राजस्व बढाउने लक्ष्य राखे पनि बुधवारसम्मको संकलन पोहोरको हाराहारीमै छ । राजस्व संकलनको तथ्यांक आर्थिक गतिविधि बढ्न नसकेको बलियो प्रमाण हो । 

सरकारले अर्थतन्त्रका सूचकहरू सकारात्मक रहेको प्रतिवेदन सार्वजनिक गरेकै दिन सरकारी समाचार संस्था राससले हेटौंडा औद्योगिक क्षेत्रका उद्योगहरूले क्षमताको ४० प्रतिशत मात्रै उत्पादन गरिरहेको रिपोर्ट सम्प्रेषण गरेको छ । आर्थिक मन्दीले उत्पादन गरिएको उक्त समाचारमा उल्लेख छ । 

रिपोर्ट कार्डमा अघिल्लो आर्थिक वर्ष (आव) को तुलनामा यस आर्थिक वर्षमा नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको अवस्थामा राम्रो सुधार आएको देखिए पनि लक्ष्यअनुसार प्रगति हुन नसकेको उल्लेख छ । सरकारले आर्थिक परिसूचक तथा बजेट कार्यान्वयनमा राम्रो सुधार आएको बताए पनि विज्ञहरू त्यो मान्न तयार छैनन् । 

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. पुष्पराज कँडेल अर्थतन्त्रमा कुनै सुधार नआएको बताउँछन् । सरकारले सही नीति लिन नसक्दा अर्थतन्त्र शिथिल बनेको र अर्थतन्त्र मन्दीमै फसिरहेको उनको भनाइ छ । बजेट सार्वजनिक भएको लामो समयसम्म पनि अहिलेसम्म नीतिगत व्यवस्थाहरू लागू हुन नसकेको उनले बताए । ‘बजेटमा घोषणा गरिएका धेरैजसो योजना, कार्यक्रम कार्यान्वयनमै गएका छैनन्, सरकारको रिपोर्टको अर्थ छैन,’ उनले आर्थिक अभियानसँग भने । 

यता प्रधानमन्त्री पुष्पकमल दाहालले भने जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले परिणाम दिन नसकेको बताउनुभएको छ । आफ्नो कार्यादेशअनुसार कर्मचारीले जोखिम उठाउन सक्नुपर्ने बताउँदै उहाँले कर्मचारीलाई प्रभावकारी हिसाबले काम गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा ‘रिपोर्ड कार्ड’को प्रस्तुतिपछि प्रधानमन्त्री दाहालले जोखिम उठाउन तयार हुने मनोविज्ञानले मात्र राम्रो परिणाम दिने बताउनुभयो । ‘हामी सबैले जिम्मेवारी वहन गर्नेतिरबाट सोच्नुपर्छ । जिम्मेवारी पन्छाउने प्रवृत्तिले परिणाम दिँदैन,’ उहाँले भन्नुभयो, ‘जिम्मेवारीमा जोखिम हुन्छ । सबै कर्मचारी जोखिम मोल्न तयार भए मात्रै परिणाममुखी नतिजा आउँछ ।’ 

प्रधानमन्त्री दाहालका अनुसार नीति तथा कार्यक्रम र बजेटको मासिक समीक्षा गर्ने प्रक्रियाको थालनी हुनु निकै राम्रो पक्ष हो । राम्रो परिणाम ल्याउन आगामी दिनमा धेरै मेहनत गर्नुपर्ने र यसले प्रभावकारी परिणाम दिने उहाँले बताउनुभयो । 

रिपोर्ट कार्डमा सरकारका विभिन्न मन्त्रालयले आव २०७९/८० मा सम्पादन गरेका कामको विवरण उल्लेख गरिएको छ । 

रिपोर्ट कार्डमा सबै मन्त्रालयका माइलस्टोन, सम्पन्न भएका काम, चालू काम र शुरू हुन बाँकी कामको सूची समेटिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)