ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

साल्ट ट्रेडिङ कर्पाेरेशनले मनायो ६१औं वार्षिकोत्सव

२०८० भदौ, २८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडले ६१औं वार्षिकोत्सव मनाएको छ । उपभोग्य वस्तु, रासायनिक मल लगायतको कारोबार गरिरहेको कर्पोरेशनले बुधवार ६१औं वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले कर्पोरेशनले नेपाली जनतालाई सुपथ मूल्यमा गुणस्तरीय उपभोग्य वस्तु उपलब्ध गराइरहेको बताए । कम्पनीले आफ्नो निर्धारित मूल्यमान्यतामा रहेर उपभोक्तालाई सेवा दिइरहेको समेत उनले बताए ।

कर्पाेरेशनका अध्यक्ष प्रदिपलाल श्रेष्ठले नेपाल सरकारको नीति निर्देशनलाई पूर्ण रूपमा पालना गरी बजारमा दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाउँदै आएको बताए । आगामी दिनमा सेवा क्षेत्र विस्तार गरी कारोबार समेत बढाउने लक्ष्य रहेको कम्पनीले बताएको छ ।

कर्पाेरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले साल्ट ट्रेडिङको वित्तीय अवस्था थप सुदृढ पार्न सेवाको विविधीकरण आवश्यक रहेको बताइन् । ‘साल्ट ट्रेडिङमार्फत बेचिने सरकारी अनुदानको रासायनिक मलले कृषि क्षेत्रको उत्पादनलाई प्रत्यक्ष सहयोग गरेको छ । उत्पादनका अन्य क्षेत्रमा पनि साल्ट ट्रेडिङले काम गर्न सक्छ,’ उनले भनिन् ।

कम्पनीले आयोडिनयुक्त नून, चिनी, रासायनिक मलको आपूर्ति व्यवस्था मिलाउनुका साथै सहुलियत मूल्यमा यस्ता वस्तु विक्री गर्दै आएको छ । कम्पनीले ग्यास उद्योग सञ्चालन, केमिकल तथा खाद उत्पादन तथा पैठारी समेत गर्दै आएको छ । व्यावसायिक सेवाका अतिरिक्त संस्थागत सामाजिक उत्तरदायित्वका काममा पनि कम्पनीको अग्रणी भूमिका रहेको छ ।

वार्षिकोत्सव समारोहमा बालबालिकाको संरक्षणमा सक्रिय संस्थाहरूलाई ‘बालहितकारी पुरस्कार’ दिइएको थियो । यस्तै, उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई प्रशंसापत्र र एसईई परीक्षामा उत्कृष्ट अंक ल्याई उत्तीर्ण भएका कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति समेत प्रदान गरिएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)