ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आज सार्वजनिक विदा भएकाले मिड सोलुको आईपीओ शुक्रवार देखि विक्री खुला 

२०८० भदौ, २८  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले भोलिदेखि मात्रै आइपीओ बिक्रीमा ल्याउने भएको छ । कम्पनीले आजदेखि नै आइपीओ बिक्रीमा ल्याउने तयारी गरेको भएपनि बिहीबार सार्वजनिक विदा परेकोले शुक्रबार (भदौ २९ गते) देखि मात्रै आइपीओ बिक्रीमा ल्याउने भएको हो । 

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट पछि दोस्रो चरणमा सर्वसाधारणका लागि विक्री गर्न लागेको हो । सर्वसाधारणमा ६ लाख २१ हजार १७२ कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो । 
यस अघि वैदेशिक रोजगारीमा रहेका नेपालीमा साउन १४ गतेदेखि २८ गतेसम्म विक्री गरेको ७४ हजार ८४० कित्ता आईपीओ कम्पनीले भदौ ६ गते बाँडफाँट गरेको थियो । त्यस्तै आयोजना प्रभावित स्थानीयमा साउन १४ गतेदेखि ३० गतेसम्म विक्री गरेको ७ लाख ४८ हजार ४०० कित्ता आईपीओ भने भदौ १८ गते बाँडफाँट गरेको हो ।
कम्पनीले जारी पूँजी ७४ करोड ८४ लाख रूपैयाँको २० प्रतिशत दरको १४ लाख ९६ हजार ८०० कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीले प्रतिकित्ता एक सय रूपैयाँ अंकित मूल्यमानै आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । 
सर्वसाधारणमा यो आईपीओ छिटो अवधि असोज २ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा असोज १२ गतेसम्म विक्री अवधि थप हुने जानकारी कम्पनीले दिएको छ । सर्वसाधारणमा जारी भएको आईपीओ पहिलो दिनमै विक्दै आएकाले यो आईपीओ छिटो अवधिसम्म मात्र विक्रीमा रहने निश्चित छ । यो आईपीओ खरीदका लागि सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् ।
कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर मार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ निष्कासनका लागि गराईएको रेटिङ्गमा ईक्रा नेपाल लिमिटेडले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्युअर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । 
कम्पनीको परिचय ः
निजी क्षेत्रका उद्यमीहरू मिलेर २०७४ साल वैशाख ६ गते नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयमा यो कम्पनी दर्ता भई कारोबार सञ्चालन गर्दै आएको थियो । आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई समेत सहभागी गराउने उदेश्यले २०७८ साल असार १६ गते यो कम्पनी पब्लिक लिमिटेड कम्पनीमा परिणत भई सञ्चालनमा रहेको छ । कम्पनीमा ६२ जना संस्थापक शेयरधनीहरू रहेका छन् । संस्थापकहरू विद्युत , उर्जा, बैंक तथा वित्तीय, शैक्षिक क्षेत्र एवम् व्यापार व्यवसायको साथै व्यवस्थापन क्षेत्रमा लामो समय काम गरेका अनुभवि व्यक्तिहरू रहेका छन् । यस कम्पनीले सोलुखुम्बु जिल्लामा ९ दशमलव ५ मेगावाट क्षमताको मध्य सोलु खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७९ साल पुस १५ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । यस आयोजनाको कुल अनुमानित लागत २ अर्ब ८ करोड ४१ लाख ६३ हजार ६२८ रूपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड ९३ लाख ८५ हजार ६४५ रूपैयाँ ५ पैसा रहेको छ । रजिष्टर्ड कार्यालय बानेश्वर,काठमाडौंमा रहेको कम्पनीको जलविद्युत केन्द्र भने सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिकामा रहेको छ । 
पूँजी संरचना ः
यस कम्पनीको अधिकृत पूँजी ८० करोड रूपैयाँ रहेको छ भने जारी पूँजी ७४ करोड ८४ लाख रूपैयाँ रहेको छ । हाल संस्थापक तर्फबाट चुक्ताभएको पूँजी भने ५९ करोड ८७ लाख २० हजार रूपैयाँ रहेको छ । सर्वसाधारणमा सम्पूर्ण कित्ता आईपीओ बाँडफाँटपछि भने कम्पनीको चुक्तापूँजी ७४ करोड ८४ लाख कायम हुनेछ । हाल संस्थापक तर्फ जारी पूँजीको ८० प्रतिशत शेयर स्वामित्व कायम रहेको छ । सर्वसाधारणतर्फ आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली , कर्मचारी र सामूहिक लगानीकोष समेत २० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ । आईपीओ विक्रीबाट संकलित रकम कम्पनीले बैंकबाट लिएको कर्जा भुक्तानी तथा आयोजना निर्माणको लागि उपयोग गर्ने बताएको छ ।
वित्तीय अवस्था ः
कम्पनीले सार्वजनिक गरेको आव्हान पत्रलाई आधार मान्दा वास्तविक अवस्था भने प्रतिशेयर नेटवर्थको मात्र उल्लेख छ । आर्थिक वर्ष ०७८÷७९ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ एक सय रूपैयाँ रहेको छ । गत आर्थिक वर्ष ०७९/८० को चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार भने कम्पनीले ९८ लाख ८८ हजार सञ्चित नाफा गरेको छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी १ रूपैयाँ ६५ पैसा र प्रतिशेयर नेटवर्थ १०१ रूपैयाा ६५ पैसा छ । गत आर्थिक वर्ष ०७९/८० सम्म भने ३ करोड २ लाख रूपैयाँभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण कम्पनीले गरेको छ । चालू आर्थिक वर्ष ०८०/८१ सम्म भने १२ करोड ७० लाख रूपैयाँभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण कम्पनीको छ । 
सञ्चालक समिति ः
यस कम्पनीमा चार सदस्यीय सञ्चालक समिति रहेको छ । सञ्चालक समितिको अध्यक्षमा भीम बहादुर पाल रहेका छन् । ५० हजार कित्ता कम्पनीको संस्थापक तर्फको शेयर स्वामित्व ग्रहण गरेका अध्यक्ष पाल ४४ वर्षका हुन । राष्ट्रिय निर्माण कम्पनी नेपाल तथा एजि पावर कम्पनीमा सिभिल इन्जिनियरको रुपमा कार्यरत अध्यक्ष पाल के. एस कन्ट्रक्सन प्राइभेट लिमिटेडमा सन २००७ देखि हालसम्म प्रबन्धक निर्देशकको पद समेत सम्हालिरहेका छन् । रमेश राज गौतम भने कम्पनीको प्रबन्धक सञ्चालक पदमा छन् । प्रबन्धक सञ्चालक गौतमसँग अर्थ र प्रशासनमा ३० वर्ष काम गरेको अनुभव रहेको छ । सञ्चालकहरूमा भने दिपक राज जोशी र प्रकृति गौतम रहेका छन् । दिपक राज जोशीसँग यस अघि राष्ट्रिय वाणिज्य बैंकमा ३ वर्ष र सन्राइज बैंकमा १२ वर्ष काम गरेको अनुभव छ । हाल उनि ग्लोबल आइएमई बैंकमा सञ्चालकका रुपमा रहेका छन् । प्रकृति गौतम भने विगत ३ वर्षदेखि कृषि उद्योगमा आवद्ध रहेकी छिन  । अर्थमन्त्रालयमा अनुसन्धान परामर्शदाता तथा सल्लाहकारको रुपमा काम गरिसकेकी उनले विगत लामो समय विभिन्न संस्थाहरूमा काम गरेको अनुभव छ ।
पहिलो कारोबारका लागि कति पाउँला मूल्यरेञ्ज ?
धितोपत्र प्राथमिक बजारमा सर्वसाधारणमा विक्री गरेको आईपीओ कम्पनीले कारोबारका लागि भने धितोपत्र दोस्रो बजारमा सूचीकृत गराउनेछ । सूचीकृत भएको दोस्रो कारोबार दिनदेखि कारोबार योग्य हुने आईपीओ नियमित कारोबारका लागि भने स्पेशल प्रि ओपनिङ सेसनमा कारोबार हुनुपर्दछ । कम्पनीको आईपीओको पहिलो कारोबार मूल्य बजार सञ्चालकले निर्धारण गर्नेछ । हाल दोस्रो बजार सञ्चालकको रुपमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) रहेको छ । नेप्सेले कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा तीन गुणासम्मको मूल्य रेञ्ज पहिलो कारोबारका लागि तोक्ने गर्दछ । यसर्थ कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा न्यूनतम प्रतिकित्ता एक सय रूपैयाँदेखि अधिकतम प्रतिकित्ता ३०० रूपैयाँसम्मको मूल्यरेञ्ज पाउने देखिन्छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)