ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

टोखा–छहरे सुरुङमार्ग: ईआईए र डीपीआर अध्ययन गर्न वनको सहमति

२०८० भदौ, २९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। काठमाडौं–रसुवागढीलाई छोटो दूरीले जोड्ने टोखा–छहरे सुरुङमार्ग आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) अघि बढाउन वन तथा वातावरण मन्त्रालयले सहमति दिएको छ । मन्त्रालयले विभिन्न शर्त राखेर शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने यो आयोजनाको ईआईए अघि बढाउन सहमति दिएको हो । 

वनको सहमति पाएसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ईआईएसँगै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को अध्ययन अघि बढाउन चिनियाँ पक्षलाई जानकारी गराउने प्रक्रिया अघि बढाएको छ । वन मन्त्रालयले ८ बुँदे शर्त राखेर यो आयोजनाको ईआईए प्रक्रिया अघि बढाउन सहमति दिएको छ । मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई बुधवार सहमति दिएको हो । यससँगै पूर्वसम्भाव्यता अध्ययन भएको यो सुरुङमार्गको डीपीआर र ईआईए अघि बढाउन बाटो खुलेको छ । यस्तै, चिनियाँ पक्षलाई पनि जानकारी गराइने मन्त्रालय स्रोतले जानकारी दिएको छ । ‘वन मन्त्रालयको सहमति प्राप्त भएको छ,’ स्रोतले भन्यो, ‘मन्त्रालयले राखेका शर्तहरू ईआईए र डीपीआर अघि बढाउँदा कार्यान्वयनमा जाने भएकाले थप अध्ययन अगाडि बढाउन परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ पक्षलाई जानकारी गराउन भनिएको छ ।’

चीन सरकारको सहयोगमा यो आयोजनाको पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ । थप अध्ययन अघि बढाउन चिनियाँ पक्षबाट माग भएअनुसार अहिले वनबाट सहमति पाइसकेको भन्दै मन्त्रालयका ती अधिकारीले चिनियाँ पक्षलाई जानकारी गराउन भनिएको बताए ।

प्रस्तावित आयोजना निर्माण र सञ्चालन गर्दा दुर्लभ र लोपोन्मुख वन्यजन्तु र यिनीहरूको वासस्थान, जैविक विविधता र पारिस्थितिक प्रणालीमा पर्ने नकारात्मक असरको अध्ययन गर्नुपर्ने मन्त्रालयको शर्त छ । वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका–२०७८ अनुसार यी विषयमा विस्तृत अध्ययन गरी/गराई नकारात्मक असर न्यूनीकरणका उपाय पालना र कार्यान्वयनको व्यवस्था पनि प्रतिवेदनमा समेट्नुपर्नेछ ।

यस्तै आयोजनाको सम्भाव्यता अध्ययन गर्दा विभिन्न विकल्पहरूको पनि अध्ययन गर्नुपर्ने उल्लेख गरिएको छ । त्यसरी अध्ययन गर्दा तथ्य र तथ्यांकको आधारमा जैविक विविधता र समग्र वातावरणमा न्यून नकारात्मक असर पुर्‍याउने र मध्यवर्ती र निकुञ्ज क्षेत्रको वनमा न्यूनतम प्रयोग गर्ने विकल्प छनोट गरी अध्ययन गर्न भनिएको छ ।

अध्ययन प्रतिवेदनमा वैकल्पिक डिजाइनहरू प्रस्ताव गरी कम वातावरणीय क्षति हुने एवं निकुञ्ज र मध्यवर्ती क्षेत्रको वनक्षेत्र न्यूनतम प्रयोग गर्ने डिजाइन छनोट गरेको विस्तृत विवरण प्रतिवेदनमा समेट्नुपर्ने, अध्ययनमा उक्त निकुञ्ज कार्यालयका अधिकृत स्तरका प्राविधिक कर्मचारी अनिवार्य संलग्न गराउनुपर्नेलगायत शर्त मन्त्रालयले राखेको छ । 

सन् २०१९ अक्टोबरमा नेपाल भ्रमणमा चिनियाँ राष्ट्रपति आउँदा यो सुरुङमार्गको अध्ययन अघि बढाउने विषयमा सहमति भएको थियो । रसुवागढी सडकलाई काठमाडौंबाट छोटो दूरीले जोड्ने र उत्तरतर्फको सडक पहुँचलाई नजिक बनाउन यो सुरुङमार्ग अघि बढाउने योजना अघि सारिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)