काठमाडौं । विगत केही साता निरन्तर घटेको नेपालको धितोपत्र बजार यो साता भने ७४ दशमलव ६१ अंकले माथि उक्लिएको छ । गत साताको अन्तिम कारोबार दिन १ हजार ९३२ दशमलव ४५ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन भने २ हजार ७ दशमलव शून्य ६ विन्दुमा पुगेको हो ।
गत साता र यो साता एक दिन सार्वजनिक बिदा परेकाले चार कारोबार दिन मात्र बजार खुला भएको थियो । गत साता चार कारोबार दिनमा बजार एक कारोबार दिन मात्र बढेको थियो भने यो साता चार कारोबार दिनमा बजार एक दिन मात्र घटेको छ । यो साता पहिलो कारोबार दिन १० दशमलव २३ अंक र दोस्रो कारोबार दिन ४४ दशमलव ३० अंक बजार बढेको थियो । तेस्रो कारोबार दिन १९ दशमलव ४२ अंक घटेको बजार अन्तिम कारोबार दिन ३९ दशमलव ४८ अंक बढेर बन्द भएको छ ।
नेप्से परिसूचकसँगै गत साताको तुलनामा यो साता ठूला कम्पनीहरूको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स १५ दशमलव २३ अंक माथि उक्लिएको छ । गत साताको अन्तिम कारोबार दिन ३७१ दशमलव ५८ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साताको अन्तिम कारोबार दिन ३८६ दशमलव ८१ विन्दुमा पुगेको हो ।
यतिबेला लगानीकर्ताहरू लाभांश मुडमा रहेको जानकारी ब्रोकरहरूले दिएका छन् । सूचीकृत कम्पनीहरूले लाभांश प्रस्ताव सार्वजनिक गर्ने क्रम बढी रहेकाले आकर्षक लाभांश दिने सम्भावना बोकेका कम्पनीहरूको शेयर खरीदमा यतिबेला लगानीकर्ता सक्रिय रहेको भनाइ ब्रोकरहरूको छ । बैंक तथा वित्तीय संस्थामा पछिल्लो समय तरलता पर्याप्त मात्रामा रहेकाले आगामी दिनमा ब्याजदर घट्ने अपेक्षासमेत लगानीकर्ताहरूले गरेका छन् । ब्याजदर उच्च रहेको अवस्थामा पूँजीबजारका लगानीकर्ता चाहेर पनि कर्जा उपयोग गर्ने अवस्थामा नरहेको गुनासो लगानीकर्ताहरूले गरेका छन् ।
लगानीकर्ता उत्साहित बन्दा यो साता चार कारोबार दिनमा ५ अर्ब ६४ करोड ४४ लाख रुपैयाँभन्दा बढीको १ करोड ८९ लाख ४८ हजार १२० कित्ता धितोपत्र कारोबार भएको छ । गत साता चार कारोबार दिनमा ४ अर्ब २३ करोड ३५ लाख रुपैयाँभन्दा बढीको १ करोड ३७ लाख ३५ हजार ५९७ कित्ता धितोपत्र कारोबार भएको थियो । गत साताको तुलनामा यो साता १ अर्ब ४१ करोड ८ लाख रुपैयाँभन्दा बढीको ५२ लाख १२ हजार ५२३ कित्ता बढी धितोपत्र कारोबार भएको हो । औसतमा यो साता कारोबार रकम ३५ करोड २७ लाख रुपैयाँभन्दा बढीले वृद्धि भएको हो । गत साता औसतमा १ अर्ब ५ करोड ८३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएकोमा यो साता १ अर्ब ४१ करोड ११ लाख रुपैयाँभन्दा बढीको औसत कारोबार भएको हो ।
बजार बढेसँगै सूचीकृत कम्पनीहरूको शेयर मूल्यमा समेत वृद्धि देखिएको छ । कुल बजार पूँजीकरणमा भएको वृद्धिको आधारमा सूचीकृत कम्पनीहरूको मूल्य वृद्धि १ खर्ब ११ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी भएको देखिन्छ । गत साताको अन्तिम कारोबार दिन २८ खर्ब ९२ अर्ब ९३ करोड रुपैयाँभन्दा बढी रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ३० खर्ब ४ अर्ब ६२ करोड रुपैयाँभन्दा बढी कायम भएको हो ।
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।
सबै समूहगत परिसूचक बढे, व्यापारिक समूहका लगानीकर्ताले सर्वाधिक कमाए
यो साता सबै समूहगत परिसूचकहरू बढेका छन् । नेप्सेले दिएको जानकारी अनुसार यो साता व्यापारिक समूहको परिसूचक सर्वाधिक ६ दशमलव ६५ प्रतिशत वृद्धि भएको छ । व्यापारिक समूहपछि सर्वाधिक बढ्ने परिसूचक हो, वित्त समूह । उक्त समूहको परिसूचक ५ दशमलव ९७ प्रतिशत वृद्धि भएको छ ।
त्यस्तै होटल तथा पर्यटन समूहको ५ दशमलव ६४ प्रतिशत, जलविद्युतको ४ दशमलव ९१ प्रतिशत, जीवन बीमाको ४ दशमलव ८२ प्रतिशत, निर्जीवन बीमाको ४ दशमलव ६७ प्रतिशत, विकास बैंकको ४ दशमलव ४३ प्रतिशत, अन्यको ३ दशमलव ८३ प्रतिशत, उत्पादन तथा प्रशोधनको ३ दशमलव ३५ प्रतिशत, बैंकिङ्गको २ दशमलव २० प्रतिशत, लघुवित्तको ३ दशमलव शून्य ३ प्रतिशत, लगानीको २ दशमलव ७१ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ७६ प्रतिशत परिसूचक बढेको हो । गत साता समग्र धितोपत्र बजार सकारात्मक बनेसँगै सबै समूहका लगानीकर्ता उत्साहित बनेको देखिन्छ ।
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।