ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ब्रोकर कमिशन पुनरवलोकन गर्दै धितोपत्र बोर्ड

२०८० भदौ, ३१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले धितोपत्र व्यवसायी (ब्रोकर) कम्पनीहरूलाई मर्का नपर्ने गरी ब्रोकर कमिशन पुनरवलोकन हुने बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित आर्थिक मन्दीमा पूँजीबजार : सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष हमालले ब्रोकर कम्पनीहरू पूँजी बजारका मुटु हुन् भन्दै उनीहरूलाई मर्का नपर्ने गरी कमिशन पुनरवलोकन हुने बताए । उनले ब्रोकर कमिशन घट्नुअघि बोर्डको कमिशन घटाउनेसमेत उल्लेख गरे ।

धितोपत्र बजारका लगानीकर्ता रहे बजार रहने कुरालाई प्राथमिकतामा राख्दै अध्यक्ष हमालले आम लगानीकर्ताको हितलाई ध्यानमा राखी ब्रोकर कमिशन पुनरवलोकन गर्न लागेको बताए । अध्यक्ष हमालले ब्रोकर कमिशन घटाउने विषयमा सम्बद्ध ब्रोकर कम्पनीहरूसँग पनि गहन रूपमा छलफल गरिसकेको जानकारी दिँदै बजारका कोही कसैलाई हानि नहुने गरी कमिशन पुनरवलोकन गरिने प्रतिबद्धता व्यक्त गरे । प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा १० कित्ते नीतिको भने हमालले विरोध गरेका छन् । यो नीतिको सकारात्मक पक्षलाई अझ सबल बनाउने र नकारात्मक पक्षलाई पुनरवलोकन गर्न आवश्यक नीति ल्याउनुपर्ने आवश्यकतासमेत अध्यक्ष हमालले औंल्याए ।

१० कित्ते नीतिका कारण धेरै लगानीकर्तामाझ पूँजी बजार पुगेको कुरालाई भने उनले स्वीकार गरेका छन् । बोर्डले विगत वर्षहरूमा लामो समयसम्म गर्न नसकेको काम गर्न सफल भएको स्मरण गराउँदै अध्यक्ष हमालले आगामी दिनमा पनि बोर्डले अघि सारेका योजना सफल बनाएरै छाड्ने प्रतिबद्धतासमेत गरे । 

आगामी दिनमा धितोपत्र बजारमा संस्थागत लगानीकर्ता भित्त्याउने कार्यलाई बोर्डले प्राथमिकतामा राख्ने हमालको भनाइ छ । गैरआवासीय नेपालीलाई धितोपत्र बजारमा प्रवेश गराउने विषयमा बोर्डले गठन गरेको अध्ययन समितिले आवश्यक प्रतिवेदन तयार गरिसकेको र त्यसमा रहेका आवश्यक कानून निर्माणको काम भइरहेको समेत अध्यक्ष हमालले जानकारी दिएका छन् । आगामी दिनमा हकप्रद शेयरमा नयाँ व्यवस्था लागू गर्ने तयारी रहेको जानकारी गराउँदै हमालले सूचीकृत कम्पनीका स्वतन्त्र सञ्चालकहरूको योग्यता पनि तोकिने बताए । 

उक्त कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले कम्पनीहरूको दोस्रो बजारमा हुने मूल्यको उतारचढावको ग्यारेन्टी बोर्डले नलिने बताएका छन् । प्रिमियम मूल्यमा आईपीओ जारी गरेका कम्पनीहरूको शेयरमूल्य दोस्रो बजारमा कम भएमा त्यस्ता कम्पनीलाई बोर्डले काराबाही गर्न सक्छ कि सक्दैन भन्ने प्रश्नको जवाफमा बोर्डका कार्यकारी अध्यक्ष श्रेष्ठले बोर्डले राम्रा कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ जारी गर्न स्वीकृति प्रदान गर्ने भए पनि ती कम्पनीको शेयर लगानीकर्तालाई खरीद गर्न बोर्डले बाध्य नपार्ने बताए । आईपीओ खरीद गर्ने निर्णयदेखि दोस्रो बजारमा हुने मूल्य जोखिमको जिम्मा स्वयं लगानीकर्ताले लिनुपर्ने धारणा श्रेष्ठको रहेको छ । 

बोर्डले ब्रोकर कमिशन घटाउने विषयमा अध्ययन गरिरहेको बताइरहँदा ब्रोकर कम्पनीका प्रतिनिधिहरूले भने नघटाउन आग्रह गरेका छन् । स्टक ब्रोकर एशोसिएशनका अध्यक्ष धर्मराज सापकोटा र धितोपत्र स्टक ब्रोकर एशोसिएशनका महासचिव कृष्ण गिरीले ब्रोकरहरू अहिलेको अवस्थामा घाटामै चलिरहेको भन्दै अवस्था हेरेर मात्र कमिशन पुनरवलोकन गर्न आग्रह गरे । नयाँ ब्रोकर कम्पनीहरू भर्खरै धितोपत्र बजारमा प्रवेश गरेको अवस्थामा केही वर्ष उनीहरू स्थापित हुन सक्ने/नसक्ने अवस्थाको मूल्यांकन गर्नुपर्ने महासचिव गिरीको सुझाव छ । 

अध्यक्ष सापकोटाले भने पुराना ब्रोकर कम्पनीहरूको हकमा मार्जिन कर्जा प्रवाह गर्न केही प्राविधिक कठिनाइ रहेको भन्दै बोर्डले नीतिगत रूपमै ती कठिनाइ समाधान गर्नुपर्ने बताए ।

लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले पूँजी बजारको विकासका लागि संस्थागत लगानीकर्ता बढ्नुपर्ने बताए । बजारमा नयाँ औजारको विकास भए कारोबार बढ्ने उल्लेख गर्दै उनले ब्रोकरहरूले कारोबार बढाउने गरी व्यवसाय गर्नुपर्ने बताए । 

पूँजीका हिसाबमा बलिया नयाँ ब्रोकर कम्पनी बजारमा भित्रिएकाले पुरानालाई पनि पूँजी बढाएर सेवा बढाउन उनले आग्रह गरे । बजार घट्न र बढ्नु स्वाभाविक रहेको भन्दै पौडेलले कुनै पनि नीतिले बजारलाई नकारात्मक प्रभाव पर्न नहुने तर्क गरे । बजार बढ्नु मात्र पर्छ भन्ने लगानीकर्ताको माग नरहेको उल्लेख गर्दै उनले गलत नीतिका कारण बजार घट्न नहुने बताए ।

ब्रोकर कमिशन घट्ने चिन्तामा रहेका ब्रोकर कम्पनीहरूलाई आगामी दिनमा दैनिक २० अर्ब रुपैयाँको कारोबार हुने अवस्था आए कमिशन घटेर ब्रोकरको व्यवसायमा असर नपर्ने उनको तर्क छ । ब्रोकर कम्पनीहरूलाई आम लगानीकर्तालाई उत्साहित हुने गरी सेवा बढाएर कारोबार बढाउन लगानीकर्ता पौडेलले अनुरोध गरे ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)