काठमाडौं। नेपाल इटाली चेम्बर अफ कमर्श (एनआईसीसीआई)का अध्यक्ष सञ्जय अग्रवालको नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले इटालियन चेम्बरहरूको भ्रमण गरेको छ । प्रतिनिधिमण्डलले भदौ १७ देखि २३ सम्म रोम र मिलानको भ्रमण गरेको हो । भ्रमण एनआईसीसीआईका लागि द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको बताइएको छ । भेटमा व्यापारका सम्भाव्यता अध्ययन गर्र्नुका साथै नेपाल र इटालीबीच व्यापारिक र सांस्कृतिक सम्बन्ध निर्माण र विस्तारमा केन्द्रित रहेको बताइएको छ । एनआईसीसीआईले मिलान चेम्बर अफ कमर्स (प्रोमोस इटालिया)सँगको पहिलो बैठकबाट उल्लेखनीय सफलता प्राप्त भएको जानकारी दिएको छ । मिलानले विभिन्न रूपमा एनआईसीसीलाई सहयोग गर्न प्रयास रहने बताएको जानकारी दिइएको छ । ‘यी ऐतिहासिक भेटवार्तासँगै नेपाल र इटालीबीचको सम्बन्धको आधिकारिक शुरुआतको रूपमा एनआईसीसीआईका लागि इटालियन बिजनेस ल्यान्डस्केपको ढोका खुला भएको छ,’ एनआईसीसीआईको भनाइ छ ।