ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रौतहट कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

२०८० भदौ, ३१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

बारा । कारागार कार्यालय गौर रौतहटमा क्षमताभन्दा दोब्बर कैदीबन्दी राखिएको छ । जीर्ण भवनमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएपछि कैदीबन्दी त्रासमा बस्नुका साथै दैनिक क्रियाकलापमा समेत सास्ती भोग्न बाध्य छन् । सन् १९९० मा गौर नगरपालिका–८ मा निर्माण गरिएको उक्त कारागार जीर्ण हुँदा पनि जोखिम मोलेर कैदीबन्दी राखिएका छन् । अधिकतम २०० र न्यूनतम १६० क्षमता भएको उक्त कारागारमा अहिले महिला, पुरुष र बालबालिका गरी ३८१ कैदीबन्दी रहेका कारागार प्रमुख मणिभूषण शाहले जानकारी दिए । 

उनका अनुसार १८९ पुरुष, १४ महिला कैदीबन्दी रहेका छन् भने थुनुवामा १७१ पुरुष, चार महिला, दुई बालबालिका गरी जम्मा ३८१ कैदीबन्दी रहेका छन् । कारागारको छत माथि जस्तापाताले छाएको टहरा निर्माण गरी ७६ कैदीबन्दीलाई राखिएको प्रमुख शाहले जानकारी दिए । उनकाअनुसार कारागारमा किचन, बरन्डा, भर्‍याङमा समेत कैदीबन्दीलाई राखिएको छ । शौचालय जानदेखि नुहाउनसमेत कठिन हुने गरेको भेटघाटका क्रममा रहेका कर्तव्य ज्यान मुद्दाका कैदी महताव आलमले गुनासो गरे । ‘कर्तव्य ज्यान मुद्दाका एक महिला जो सात महीनाको गर्भवती हुनुहुन्छ, उहाँलाई झनै कठिनाइको सामना गर्नुपरेको छ,’ कर्तव्य ज्यान मुद्दाका कैदी विष्णु रायले भने । ठाउँको अभावका कारण राति सुत्न निकै समस्या हुने गरेको उनीहरूको गुनासो छ । ‘भवन निकै पुरानो भएकाले बर्खायाममा चुहिने, गर्मीयाममा गर्मीले बसी नसक्नुजस्ता समस्याका गुनासो पटकपटक कैदीबन्दीले मलाई भन्ने गरेका छन्,’ कारागार प्रमुख शाहले भने, ‘हामीले मातहतका माथिल्लो निकायमा उनीका समस्याका बारेमा जानकारी गराएका छौं ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)