ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ब्याजदर परिवर्तनको प्रभाव शेयर बजारमा : २.०९ प्रतिशत घट्यो नेप्से

२०८० भदौ, ३१  
लगानी नेप्से विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक २ दशमलव ०९ प्रतिशत अर्थात् ४२ दशमलव १४ अंक घटेको छ । यससँगै परिसूचक १ हजार ९६४ दशमलव ९१ विन्दुमा झरेको हो । गत साताको पछिल्लो कारोबार दिन भने बजार ३९ अंक बढेर २ हजार विन्दुमाथि पुगेको थियो । 

आइतवार सेन्सेटिभ इन्डेक्स २ दशमलव १० प्रतिशत, फ्लोट इन्डेक्स २ दशलमव ०८ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स २ दशमलव १३ प्रतिशत घटेको छ । 

लगानीकर्ताले थोरै बढेको मौकामा नाफा बुक गर्नु, सबै बैंकहरूले ब्याजदर नघटाउनुलगायत कारणले आइतवार शेयर बजार प्रभावित भएको जानकार बताउँछन् । 

आइतवार बैंकहरूले असोज महीनाका लागि ब्याजदर तोकेका छन्, जसमा ८ बैंकहरूले ब्याजदर बढाएका छन् भने ८ ओटाले घटाएका छन् । ४ बैंकहरूले गत महीनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

यस दिन कारोबारमा आएका २७८ धितोपत्रको ५६ लाख ५९ हजार ४५८ कित्ता शेयर ७२ हजार ४७७ पटकमा रू. २ अर्ब २ करोड बराबरको शेयर कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये शुभम् पावरको शेयर मूल्य सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएको हो । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ९५८ दशमलव ६० पुगेको छ ।

शेयर मूल्य सर्वाधिक बढ्ने कम्पनीको सूचीमा दोस्रोमा थ्री स्टार हाइड्रोपावर छ । कम्पनीको शेयर मूल्य ७ दशमलव ८९ प्रतिशत बढेर रू. ३३७ दशमलव ७० पुगेको छ । 

आइतवार सबैभन्दा बढी मोलुङ हाइड्रोपावर कम्पनीका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज ९ दशमलव २१ प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १७१ दशमलव ६० मा झरेको छ । यस्तै मेन्छियाम हाइड्रोपावरको शेयर मूल्य ८ दशमलव ४६ प्रतिशत घटेर रू. २११ कायम भएको छ । 

सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा एनआईसी एशिया बैंकले ओगटेको छ । यस कम्पनीको रू. २७ करोड ५४ लाख बराबरको शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ८१४ कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको रू. २४ करोड ५२ लाख बराबरको भएको हो । 

यस दिन कारोबारमा आएका १३ ओटै समूहगत परिसूचक घटेका छन् । सबैभन्दा बढी व्यापार समूहको परिसूचक ३ दशमलव ३३ प्रतिशत घटेको छ । त्यस्तै वित्त समूहको ३ दशमलव ३० प्रतिशत र होटल तथा पर्यटन समूहको परिसूचक ३ दशमलव २९ प्रतिशत घटेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)