काठमाडौं । चालू आर्थिक वर्षको साउनमा आयातसँगै कुल वस्तु व्यापार घाटा पनि घटेको छ । नेपाल राष्ट्र बैंकले आइतवार (आज) सार्वजनिक गरेको गत साउनको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी तथ्यांकले यस्तो देखाएको हो ।
समीक्षा अवधिमा आयात १.६ प्रतिशत घटेको छ । आयातसँगै कुल वस्तु व्यापार घाटा ०.७ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । नेपालको कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९१ प्रतिशतभन्दा बढी छ । त्यही कारण आयात घट्दा कुल व्यापार घाटा पनि घट्ने गरेको छ ।
गत आर्थिक वर्षमा नेपालले १७.६८ खर्ब रुपैयाँको कुल वैदेशिक व्यापार गरेकोमा १६.११ खर्ब रुपैयाँको वस्तु आयात गरेको थियो । सो अवधिमा १.५७ खर्ब रुपैयाँको वस्तु निर्यात गरिएको भन्सार विभागको तथ्यांक छ ।
साउनमा निर्यात पनि ८.७ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा १३ अर्ब ५३ करोड रुपैयाँको निर्यात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २८.७ प्रतिशतले कमी आएको थियो ।