ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो

२०८० असोज, १  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान

काठमाडौं । तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने महिला भक्तजनको घुइँचो लागेको छ । बिहान आधा घण्टामै दर्शन गर्न सकिन्थ्यो भने अहिले एक घण्टामा दर्शन गर्न सकिने भएको छ । 

विगतका वर्षभन्दा यस वर्ष बढी व्यवस्थित भएकाले भक्तजनहरूले छिट्टै दर्शन गरेर फर्किनसक्ने अवस्था रहेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए । 

पशुपतिनाथको दर्शनका लागि बिहान ३ बजेदेखि चारओटै ढोका खोलिएका छन् । यस वर्षको हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने व्रतालु भक्तजनका लागि सहज बनाउन चार स्थानबाट लामको व्यवस्था गर्ने गरी तयारी भएको छ ।

कोषले लाम व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर एवं निःशुल्क पानी वितरणलगायत कार्य गरिरहेको छ । तीजका अवसरमा चारओटै सुरक्षा निकायले पशुपति क्षेत्रमा सुरक्षा दिने गरी व्यवस्था मिलाइएको छ ।  

कोटेश्वर–तीनकुने–सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने गरी पहिलो लामको व्यवस्था गरिएको छ । यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल आर्यघाट जाने बागमती नदीमाथिका दुई पुल पार गरेपछिको मध्य क्षेत्रमा राख्ने गरी व्यवस्था मिलाइएको छ ।

दोस्रो लाम मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने गरी व्यवस्था गरिएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल शङ्कराचार्य मठअघिको क्षेत्रमा राख्न सकिने गरी व्यवस्था गरिएको कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए । 

तेस्रो लाम गौशाला–पिङ्गलस्थान–पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था मिलाइएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ताचप्पल बज्रघरअघिको भागमा राखिनेछ । चौथो लाम गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गर्नेछ । यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ताचप्पल गुरु मन्दिरअघिको खुला भागमा राखिनेछ ।

यसैगरी तीज पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलका धर्मपत्नी सविता पौडेलले पशुपतिनाथको पूजा आराधना र दर्शन गरेकी छन् । उनले केहीबेरअघि पशुपतिनाथ मन्दिर पुगेर पूजा आराधना गरेकी हुन् ।

परापूर्वकालमा हिमालय पुत्री पार्वतीले भगवान शिवलाई पतिका रूपमा पाउँ भनी तपस्या गरेकी थिइन् । पछि उनले भगवान शिवलाई पतिका रूपमा पाएकी थिइन् । त्यसपछि तीज मनाइँदै आइएको जनविश्वास छ । तीज व्रत बस्दा असल पति पाउने, पति दीर्घायु हुने धार्मिक मान्यता छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)