काठमाडौं । हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडले सर्वसाधारणमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । मंगलवार विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले बिहान ९ बजे एक कार्यक्रमको आयोजना गरी आईपीओ बाँडफाँट गरेको हो ।
कम्पनीले सर्वसाधारणमा भदौ २१ देखि २५ गतेसम्म २४ लाख २७ हजार ७५० कित्ता आईपीओ विक्री गरेको थियो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएकाहरूमध्ये १ लाख २१ हजार ३८७ जनाले २० कित्ताका दरले आईपीओ प्राप्त गरेका छन् । पहिलो चरणमा आईपीओ बाँडफाँटपछि बाँकी रहेको १० कित्ता आईपीओ १ कित्ताका दरले थप १० जनाले प्राप्त गरेका छन् ।
विक्री प्रबन्धकका अनुसार कम्पनीको आईपीओ खरीदका लागि १२ लाख ७० हजार ९९१ जनाले २ करोड ९७ लाख ५९ हजार ८२० कित्ता शेयर खरीद माग गरेका थिए । यीमध्ये १२ लाख ६७ हजार ७०९ जनाको २ करोड ९६ लाख ५१ हजार ५२० कित्ताको आवेदन मात्र रितपूर्वक भएको छ । रितपूर्वक नभएको ३ हजार २८२ जनाको १ लाख ८ हजार ३०० कित्ताको आवेदन भने रद्द गरिएको विक्री प्रबन्धकले जानकारी दिएको छ ।
कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२ दशमलव ५० प्रतिशत दरले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कुल कित्ता आईपीओमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा २ लाख ९२ हजार ५०० कित्ता, कर्मचारीहरूमा ५८ हजार ५०० कित्ता र सामूहिक लगानी कोषहरूमा १ लाख ४६ हजार २५० कित्ता आईपीओ बाँडफाँट गरिसकिएको छ ।
२०६५ चैत १४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सोही मितिदेखि यो कम्पनी सञ्चालनमा छ । यस कम्पनीमा नेपालका युवा व्यवसायी, उद्यमी, चार्टर्ड एकाउन्टेन्टलगायत व्यावसायिक व्यक्तिहरूको लगानी छ ।
यस कम्पनीले नेपालको पूँजीबजार र लगानीका अन्य क्षेत्रहरूमा आफ्नो लगानी गरी आफूलाई एक सफल कम्पनीको रूपमा उभ्याउन सफल भएको छ ।
कम्पनीमा हाल संस्थापक तर्फबाट चुक्ता भएको पूँजी १ अर्ब २ करोड ३७ लाख ५० हजार रुपैयाँ छ । सर्वसाधारणमा समेत आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब १७ करोड कायम हुनेछ । संस्थापकतर्फ हाल ८७ दशमलव ५० प्रतिशत शेयर स्वामित्व कायम छ ।