ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनमा भोलिदेखि ‘पर्व विशेष मेला’

२०८० असोज, २  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

चितवन  । चितवनमा भोलि (बुधवार)देखि एक महीनासम्म ‘पर्व विशेष मेला २०८०’ हुने भएको छ । चितवन उद्योग संघको आयोजना र नेपाली जुत्ता घरसँगको सहकार्यमा भोलिदेखि कात्तिक २ गतेसम्म चितवन प्रदर्शनी केन्द्रमा मेला हुन लागेको हो । 

आयोजकले पत्रकार सम्मेलनमार्फत स्वदेशी उत्पादन र व्यवसायलाई प्रवर्द्धन गर्न मेला आयोजना गर्न लागिएको जनाएको छ । मेलामा जुत्ताचप्पल, खाद्यान्न, लत्ताकपडा, खसीबोका राखिनेछन् । 

यसअघिको जुत्ताचप्पल प्रदर्शनी उपलब्धिमुलक भएकोले यस वर्ष ‘पर्व विशेष मेला’ आयोजना गर्न लागिएको चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले बताए । 

‘मेलाले रोजगारी सिर्जना, राजस्वमा योगदान, आयात प्रतिस्थापन आर्थिक गतिविधिलाई चलायमान बनाउने विश्वास गरेका छौं,’ अध्यक्ष कँडेलले भने, ‘राज्यको आर्थिक समृद्धिका लागि आफ्नो तर्फबाट केही गर्छु भन्दै स्वदेशमै गरी खान्छु भनी लागेका उद्यमीहरूलाई प्रोत्साहन गर्न मेलाको आयोजना गरेका हौं ।’ 

मेलामा जुत्ताचप्पलका मात्रै १३ ओटा उद्योगको स्टल रहने उनले जानकारी दिए । खसीबोका र खाद्यान्न भने दशैंअगाडि (असोज अन्तिम साता) मात्रै राखिने उनले बताए । 

बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । जिल्लाभित्र र बाहिरका हजारौं अवलोकनकर्ताले मेलाको अवलोकन गर्ने भएकाले ‘भरतपुर भ्रमण वर्ष २०२४’ लाई सहयोग हुने उनको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवम् नेपाल फुटवेयर म्यानुफ्याक्चरर एशोसियशनका अध्यक्ष नानीराज घिमिरेले नेपालमा फुटवेयरको प्रचुर सम्भावना रहेको बताए । वार्षिक १६ करोड रुपैयाँको जुत्ताचप्पल उत्पादन गर्ने क्षमता भएका नेपाली उद्योगले १० करोड रुपैयाँको मात्रै उत्पादन गर्नुपरेको उनले बताए । 

मेलाबाट आर्थिक गतिविधि थप चलायमान भई पलायन हुन लागेका उद्योगी-व्यवसायीलाई उद्यमशीलतालाई निरन्तरता दिन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

मेलामा विदेशीसहित २ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ । 

मेलामा गुणस्तरीय उत्पादन र सहुलियत दरमा विक्री वितरण गर्नुका साथै केही अत्यावश्यक खाद्यवस्तुको मूल्यमा एकरूपता गरिने आयोजकको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)