ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दुई महीनामा साढे १४ अर्ब विदेशी लगानी प्रतिबद्धता

२०८० असोज, ३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। चालू आर्थिक वर्ष (आव)को पहिलो दुई महीनामा विदेशी लगानीकर्ताले नेपालमा १४ अर्ब ६५ करोड ४२ लाख रुपैयाँ लगानी गर्ने प्रतिबद्धता गरेका छन् । चालू आव २०८०/८१ को साउन र भदौमा विदेशी लगानीकर्ताका १११ ओटा योजना स्वीकृत हुँदा नेपालमा उक्त लगानीको प्रतिबद्धता आएको हो । 

उद्योग विभागले सोमवार सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा धेरै लगानी प्रतिबद्धता साउन महीनामा आएको छ । विभागले दुई महीनामा स्वीकृत गरेका योजनाको संख्यामा धेरै फरक नदेखिए पनि लगानी रकममा भने ठूलै अन्तर देखिन्छ । साउन महीनामा कुल ६० ओटा योजना स्वीकृत हुँदा कुल ११ अर्ब ९३ करोड १८ लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको थियो ।

भदौ महीनामा योजना संख्या ५१ ओटा भए पनि लगानी प्रतिबद्धता भने २ अर्ब ७२ करोड २४ लाख रुपैयाँको मात्र आएको छ । नेपालमा आउने विदेशी लगानीकर्ताले उत्पादनमूलक, ऊर्जा, कृषि, पर्यटन, खनिज, सेवा, पूर्वाधार र सूचना तथा प्रविधि जस्ता क्षेत्रमा लगानी गर्न पाउँछन् । आठओटा क्षेत्रमा लगानी गर्न पाइने भए पनि लगानीकर्ताको रोजाइको मुख्य क्षेत्र भने सेवामूलक रहेको छ ।

विगतका वर्षमा जस्तै चालू आवको २ महीनाको प्रवृत्ति हेर्दा लगानीकर्ता सेवामूलक र पर्यटन क्षेत्रमै लगानी गर्न इच्छुक देखिएका छन्, जसले गर्दा साना, मझौला र ठूला उद्योगको वर्गीकरणमध्ये साना उद्योगमा संख्या बढी रहेको विभागको तथ्यांकले देखाएको छ । पहिलो दुई महीनामा स्वीकृत भएका योजनामध्ये पर्यटनमा ५३ र सेवामा ४४ ओटा छन् । यसबाहेक उत्पादनमूलक उद्योगमा ९, पूर्वाधार तथा सूचना प्रविधिमा दुई/दुई र कृषिमा एउटा मात्र योजना स्वीकृत भएको छ । विभागका अनुसार यी योजना सञ्चालनमा आउँदा मुलुकमा ५ हजार ५०२ रोजगारी सृजना हुनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)