ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

डलर मूल्यमा कीर्तिमान

२०८० असोज, ३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। नेपाली बजारमा अमेरिकी डलरको मूल्य कीर्तिमानी विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले मंगलवारका लागि १ अमेरिकी डलरको खरीद दर १३२ रुपैयाँ ९४ पैसा र विक्रीदर १३३ रुपैयाँ ५४ पैसा निर्धारण गरेको थियो । बुधवारका लागि पनि केन्द्रीय बैंकले मंगलवारकै विनिमय दरलाई निरन्तरता दिएको छ । 

राष्ट्र बैंकले मंगलवार र बुधवारका लागि तोेकेको डलरको विनिमय दर हालसम्मकै उच्च हो । यसअघि गत कात्तिकमा डलरको मूल्य अघिल्ला कीर्तिमान तोड्दै १३३ रुपैयाँ १४ पैसासम्म पुगेको थियो । त्यसपछि घटेर १३० रुपैयाँ हाराहारी घुमिरहेकोमा गत महीनादेखि पुन: बढ्न थालेको हो । 

अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ (भारू) कमजोर भएसँगै नेपाली रुपैयाँ कमजोर भएको हो । भारू र नेपाली रुपैयाँको विनिमय दर स्थिर भएकाले नेपालमा पनि भारूकै आधारमा डलरको विनिमय दर तय हुने गरेको छ । भारूसँगको स्थिर विनिमय दरका कारण भारू कमजोर हुँदा नेपाली रुपैयाँ कमजोर र बलियो हुँदा बलियो हुने गरेको छ । 

पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा डलर, सुन, पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ । डलरको मूल्यवृद्धिबाट नेपालमा फाइदा बेफाइदा दुवै छ । 

डलर महँगो हुँदा इन्धन, दैनिक उपभोग्य वस्तुदेखि ठूलाठूला मेशिन औजारसमेत आयात गर्नुपर्ने नेपालमा सबैतिर महँगी बढ्छ । ढुवानी खर्च, तेल, मसला, इन्धन जस्ता वस्तुको भाउ बढ्ने हुँदा सर्वसाधारणको भान्छादेखि उनीहरूले प्रयोग गर्ने लत्ता कपडालगायत अन्य वस्तु महँगिन्छ । ठूला आयोजनाले आयात गर्ने मेशिन औजारका लागि बढी मूल्य तिर्नुपर्छ । यसले त्यस्ता आयोजनाको लागत बढाउँछ । 

सरकारले विदेशी दातृ संस्थासँग लिएको ऋणको साँवाब्याजको किस्ता पनि डलरमा नै भुक्तानी गर्नुपर्ने हुँदा सरकारको वित्तीय व्यवस्थापन दायित्व बढ्छ । डलरको भाउ बढ्दा विदेशबाट विप्रेषण प्राप्त गर्ने परिवारलाई भने फाइदा छ । उनीहरूको आम्दानी बढ्छ । 

विदेशमा हुने आफन्तले उत्ति नै रकम पठाउँदा पनि यता आफन्तले बढी पाउँछन् । निर्यात गर्ने व्यवसायी पनि यसबाट लाभान्वित हुन्छन् । उनीहरूले निर्यातको भुक्तानी डलरमा प्राप्त गर्ने हुँदा उनीहरूको आम्दानी र नाफा बढ्छ । कतिपय अवस्थामा सरकारले वस्तु निकासी बढाउन स्वदेशी मुद्राको अवमूल्यन नै गर्ने गरेको पाइन्छ ।

डलरको मूल्यवृद्धि हुँदा पर्यटन क्षेत्रलाई पनि लाभ हुन्छ । उनीहरूले पनि विदेशी पर्यटकलाई दिने सेवाको भुक्तानी परिवत्र्य विदेशी मुद्रा, विशेष गरी डलरमै लिने हुँदा स्वदेशी मुद्रा अवमूल्यन हुँदा पर्यटन क्षेत्रलाई फाइदा हुन्छ । 

पछिल्लो समयमा नेपालमा विप्रेषण आप्रवाह राम्रो हुँदा विदेशी मुद्रा सञ्चिति बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षको साउनसम्ममा विदेशी मुद्रा सञ्चिति १५ खर्ब ७३ अर्ब १२ करोड रुपैयाँ बराबर छ । यसैगरी साउनमा मात्र १ खर्ब १६ अर्ब १ करोड रुपैयाँ विप्रेषण प्राप्त भएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)