काठमाडौं । पछिल्लो समय शेयर बजारमा लगानी गर्नेहरू बढिरहेका छन् । व्यापारीदेखि कर्मचारी, विद्यार्थीसम्मले यस क्षेत्रमा लगानी गरिरहेका छन् । तीमध्ये कतिपयले बुझेर लगानी गरेका छन् त कतिपयले लहलहैमा ।
'शेयर बजारमा लगानी गरे छोटो समयमै पैसा कमाइने' भन्ने धारणाले कतिपयले लहडमा यस क्षेत्रमा लगानी गरेको पाइन्छ । यस क्षेत्रका जानकारहरू भने कम्पनीको वित्तीय विवरण वा यसका सूचकहरू राम्रोसँग अध्ययन गरेर मात्रै शेयर बजारमा लगानी गर्न सुझाउँछन् । लहडमा गरे लगानी डुब्ने खतरा हुने उनीहरूको भनाइ छ ।
जानकारहरूका अनुसार शेयर बजारमा लगानी गर्नुपूर्व कम्पनीका सूचकहरू (मूल्य आम्दानी अनुपात, प्रतिशेयर आम्दानी, प्रतिशेयर नेटवर्थ र जगेडा कोष)बारे गहन अध्ययन गर्न आवश्यक हुन्छ । यसले लगानीकर्तालाई लगानी रणनीति बनाउन सहयोग पुग्ने देखिन्छ । र, लगानी डुब्ने जोखिम हुँदैन ।
अब यी सूचकहरूको चर्चा गरौं ।
प्रतिशेयर आम्दानी
प्रतिशेयर आम्दानी कम्पनीले आर्जन गरेको मुनाफालाई कुल शेयर संख्याले भाग गरेर निकालिन्छ । यसरी निकालिएको प्रतिशेयर आम्दानी तीन महीनासम्म उपयुक्त हुन्छ । यसलाई वार्षिकीकरण गर्ने हो भने फरक सूत्र प्रयोग गर्नुपर्छ । यद्यपि शेयर लगानी गर्नेहरूको लागि तीन/तीन महीनामा निकालिने प्रतिशेयर आम्दानी बढी महत्त्वपूर्ण हुन्छ ।
जानकारहरूका अनुसार प्रतिशेयर आम्दानी धेरै हुनु राम्रो मानिन्छ । प्रतिशेयर आम्दानी दर वृद्धि भइरहने कम्पनीमा लगानी गर्नु उपयुक्त हुन्छ । यसले कम्पनीको कमाइ राम्रो भइरहेको र लगानीकर्ताले राम्रो प्रतिफल पाउन सक्ने अवस्था रहेको संकेत गर्छ ।
मूल्य आम्दानी अनुपात
पछिल्लो बजार मूल्यलाई प्रतिशेयर आम्दानीले भाग गरेर आउने अनुपातलाई मूल्य आम्दानी अनुपात भनिन्छ । यो अनुपात जति कम भयो त्यही नै राम्रो हो । कम मूल्य आम्दानी अनुपात भएको कम्पनीको शेयरमा लगानी गरेमा जोखिम कम र मूल्य बढ्ने अनुमान गर्न सकिन्छ । यसो त मूल्य आम्दानी अनुपात बढी भएको कम्पनीमा लगानी गरेमा जोखिम बढी हुने जानकारहरू बताउँछन् ।
सामान्यतया मूल्य आम्दानी अनुपात १८ देखि २५ रहेको कम्पनीमा लगानी गर्नु सुरक्षित मानिन्छ । पछिल्लो समय केही कम्पनीको मूल्य आम्दानी अनुपात १ सयभन्दा बढी छ । यस्तो कम्पनीहरूको शेयरमा बढी जोखिम हुने गर्दछ । कम्पनीहरूले तीन÷तीन महीनामा यो अनुपात दिने गरे पनि लगानीकर्ताले जहिले चाहियो त्यति बेला नै हिसाब गरेर पछिल्लो अवस्था थाहा पाउन सकिन्छ । बजार धेरै नै घटेको अवस्थामा यो अनुपातलाई पनि हेरेर लगानी गरेमा प्रतिफल राम्रै हुने बजार विश्लेषकको भनाइ छ ।
प्रतिशेयर नेटवर्थ
प्रतिशेयर नेटवर्थबाट कम्पनीले दायित्व तिर्न सकिरहेको छ कि छैन भनेर मूल्यांकन गर्न सकिन्छ । यो धेरै हुनु नै राम्रो मानिन्छ । प्रतिशेयर नेटवर्थ वृद्धि हुनुले उसको दायित्व घटिरहेको छ भन्ने देखाउँछ । यदि यो सूचक नकारात्मक भएमा कम्पनीको अवस्था खराब रहेको बुझ्न सकिन्छ । लगानी गर्नुपूर्व लगानीकर्ताले धेरै नेटवर्थ भएको कम्पनीमा लगानी गर्नु उचित मानिन्छ । यसलाई किताबी मूल्य पनि भनिन्छ ।
यदि कम्पनी केही कारणवश डुब्ने अवस्था आएमा आफ्ना लगानीकर्तालाई किताबी मूल्यको आधारमा लगानी फिर्ता गर्ने गर्दछ । नेटवर्थ निकाल्दा कम्पनीको कुल सम्पत्तिबाट कुल दायित्व घटाएर शेषलाई कुल शेयर संख्याले भाग गर्नुपर्छ ।
जगेडा कोष
लगानीकर्ताले लगानी गर्नुपूर्व यो कोषको अध्ययन गर्नुपर्छ । कम्पनीले सार्वजनिक गर्ने वित्तीय विवरणमा चुक्ता पूँजीसँगै जगेडालाई पनि उल्लेख गरिएको हुन्छ । यो कोषले कम्पनीको प्रतिकूल अवस्थाको सामना गर्ने क्षमतालाई बुझाउँछ । किनकि यो कोष सम्भावित जोखिमलाई कम गर्नका लागि बनाइएको हो । यो कोषको आकार जति बलियो हुन्छ, त्यति कम्पनीहरूको जोखिम वहन क्षमता मजबुत भएको मानिन्छ । अर्काेतिर बोनस शेयर दिएर पूँजी वृद्धि गर्न सहयोग पुग्छ ।
जगेडा कोष कम्पनीका लागि कति महत्त्वपूर्ण छ भन्ने एउटा उदाहरण हेरौं । पछिल्लो समय नियामक निकाय बीमा समितिले बीमा कम्पनीहरूलाई चुक्ता पूँजी बढाउन निर्देशन दिएको छ । जगेडा कोषको आकार ठूलो भएका बीमा कम्पनीहरूले यही कोषबाट बोनस शेयर दिएर पूँजी पुर्याउने तयारी गरिरहेका छन् । यसका अर्काे उदाहरण छ स्ट्याण्डर्ड चार्टर्ड बैंक । केही वर्षअगाडि स्ट्याण्डर्ड चार्टर्ड बैंकले पनि शत प्रतिशत बोनस शेयर दिएर राष्ट्र बैंकले तोकेको रू. ८ अर्ब चुक्ता पूँजी पुर्याएको थियो ।
अर्थात् कम्पनीले भविष्यमा कति बोनस शेयर दिन सक्छ भन्ने सम्भावनाबारे जान्न जगेडा कोषलाई हेर्नु महत्त्वपूर्ण मानिन्छ ।
०००
कम्पनीको सूचकसँगै लगानीकर्ताले बजारको ट्रेण्डलाई हेरेर अल्पकालीन वा दीर्घकालीन लगानी गर्ने भनी यकिन गर्नुपर्छ । शेयर बजारमा ऋण वा सापटी लिएर लगानी गर्न नहुने विज्ञहरूको सुझाव छ । आफूले जोखिम वहन गर्न सक्ने क्षमतालाई मध्यनजर गरेर लगानी गर्नुपर्ने उनीहरू सुझाउँछन् ।
शेयर बजार घटबढ जे भए पनि यी कुरालाई ख्याल गरेर लगानी गरेमा शेयर बजारबाट मुनाफा पाउन सकिने विश्लेषकहरूकाे भनाइ छ ।