ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सौर्य ऊर्जामा सम्भावना

२०८० असोज, ४  
सम्पादकीय
Aarthik Abhiyan 18th Anniversary Image Not Found

नेपाल ऊर्जाका लागि अत्यधिक रूपमा जलविद्युत्मा निर्भर भइरहेको छ र जलविद्युत्लाई उच्च प्राथमिकतामा राखेको छ । नवीकरणीय स्वच्छ ऊर्जा भएकाले नेपालले यो सम्भावना दोहनमा पूरा शक्ति लगाउनु सही हो । तर, ऊर्जा रणनीतिक महत्त्वको वस्तु भएकाले कुनै एकमात्र स्रोतमा भर पर्नु भने हुँदैन । त्यही भएर सरकारले ऊर्जा सम्मिश्रणको नीति लिएको छ र यो आवश्यक पनि छ । तर, सौर्य ऊर्जामा जति लगानी हुनुपर्ने हो त्यति हुन सकेको छैन ।

नेपाल जलस्रोतमा धनी भएकाले र नेपालको भौगोलिक बनोटका कारणले जलविद्युत्मा उच्च सम्भावना छ । प्राविधिक रूपमा ८३ हजार मेगावाट बिजुली निकाल्न सक्ने बताइन्छ । त्यसैअनुसार जलविद्युत् क्षेत्रमा प्रशस्त लगानी बढेको छ । हाल निर्माणाधीन सबै जलविद्युत् आयोजनाको निर्माण सम्पन्न हुने हो भने नेपालका लागि बिजुली छेलोखेलो हुने देखिन्छ । वर्षायाममा मात्र होइन, हिउँदमा पनि बिजुली आपूर्ति पुग्ने देखिन्छ । तर, वर्षायामको तुलनामा हिउँदमा बिजुली उत्पादन निकै कम हुन्छ । हिउँदकै समयमा बिजुलीको मागचाहिँ बढ्छ । हिउँदमा मात्रै सञ्चालन हुने गरी जलविद्युत् आयोजना बनाउँदा त्यसको लागतअनुसार मुनाफा आउन सक्दैन । नेपालले जलविद्युत् निर्यात गरेर धनी बन्ने सपना देखिरहेको छ । जबसम्म समान रूपमा विद्युत् आपूर्ति हुँदैन तबसम्म बिजुलीको विक्री पनि त्यति सहज हुँदैन । अहिले वर्षायाममा बढी भएको बिजुली भारतलाई बेच्ने गरिएको छ भने हिउँदमा भारतबाट आयात गर्ने गरिएको छ । तर, कोइलाबाट निकालिने बिजुली महँगो हुँदा नेपालले आफूले पाउनेभन्दा बढी पैसा भारतलाई तिर्नु परिरहेको छ । त्यसैले ऊर्जा सम्मिश्रणको नीतिअनुसार नदीप्रवाही आयोजना, जलाशययुक्त आयोजना र सौर्य ऊर्जाको सन्तुलन मिलाउनु आवश्यक छ । 

नेपालको सम्भावना जलविद्युत्मा भए पनि ऊर्जा सन्तुलनमा राख्नका लागि विभिन्न स्रोत उपयोग गर्न आवश्यक हुन्छ । जलाशय, नदी प्रवाही आयोजना, सौर्य ऊर्जा र अन्य स्रोतको ऊर्जा उपयोगलाई पनि उत्तिकै प्राथमिकता दिनु आवश्यक छ । 

सरकारले लिएको नीतिअनुसार कुल विद्युत् उत्पादनमा सौर्य ऊर्जाको हिस्सा १० प्रतिशत कायम गर्ने भनिए पनि त्यसअनुसार काम भएको छैन । अहिले निर्माणाधीन आयोजनाहरू सम्पन्न हुँदा पनि सौर्य ऊर्जाको अंश निकै कम हुने देखिन्छ । नवीनतम प्रविधिका कारण सौर्य ऊर्जाको लागत घट्दो छ । सोलार प्यानलको मूल्य गत दशकको दाँजोमा अहिले निकै घटेको छ । जलविद्युत् आयोजनाबाट निकालिएका बिजुलीको लागत प्रतिमेगावाट १६ देखि २० करोडसम्म पर्ने ऊर्जा उद्यमीको भनाइ छ । सरकारी आयोजनाको मूल्य त त्योभन्दा पनि बढी परेको देखिन्छ । तर, यसको दाँजोमा सौर्य ऊर्जाको लागत निकै कम छ । सौर्य ऊर्जा आयोजना बनाउन सजिलो पनि छ । 

सौर्य ऊर्जालाई सीधै प्रसारण लाइनसँग जोड्न सकिन्छ । ब्याट्रीमा भण्डारण नगरी सीधै प्रसारण लाइनमार्फत यो वितरण गर्न सकिन्छ । यो बिजुली सस्तो हुन्छ । सौर्य ऊर्जा ब्याट्रीमा भण्डारण गरी वितरण गर्नचाहिँ महँगो पर्छ । त्यसैले ऊर्जा सम्मिश्रणको नीतिअनुसार दिउँसो सौर्य ऊर्जा प्रयोग गर्ने र राति जलविद्युत् प्रयोग गर्ने गर्न सकिन्छ । सौर्य ऊर्जालाई प्रोत्साहन गर्न ठूला संस्था वा व्यक्तिलाई पनि सहज हुने नीति बनाइनु आवश्यक छ । नेट मिटरिङबाट दिउँसो सौर्य ऊर्जा विक्री गर्ने र राति जलविद्युत् उपभोग गर्ने व्यवस्था गर्न सकिन्छ । सौर्य ऊर्जाका महसुल र आफूले उपभोग गर्ने बिजुलीको हिसाब मिलाएर उपभोक्ताले महसुल तिर्न पाउने व्यवस्था कार्यान्वयन गरिनुपर्छ । सौर्य ऊर्जा मात्र होइन, चिनी मिलले उत्पादन गर्ने बिजुली पनि यसै गरी खरीदविक्री गर्न सकिन्छ । नेपालको सम्भावना जलविद्युत्मा भए पनि ऊर्जा सन्तुलनमा राख्नका लागि विभिन्न स्रोत उपयोग गर्न आवश्यक हुन्छ । जलाशय, नदी प्रवाही आयोजना, सौर्य ऊर्जा र अन्य स्रोतको ऊर्जा उपयोगलाई पनि उत्तिकै प्राथमिकता दिनु आवश्यक छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)