काठमाडौं । चालू आर्थिक वर्ष (आव)को २ महीनामा नेपालको वैदेशिक व्यापारसँगै व्यापार घाटा पनि घटेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो दुई महीनामा आयात ५ प्रतिशत र निर्यात ७ प्रतिशतले घटेको छ । आयात निर्यात दुवै घट्दा व्यापार घाटा ४ प्रतिशतले घटेको भन्सार विभागले जनाएको छ ।
यो आवको दुई महीनामा नेपालले २ खर्ब ५९ अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ । गत आवको सोही अवधिमा नेपालले २ खर्ब ७३ अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको थियो ।
त्यसैगरी चालू आवको सोही अवधिमा नेपालले २६ अर्ब ४४ करोड रुपैयाँ बराबरको सामान निर्यात गरेको छ । गत आवको सोही अवधिमा नेपालले २८ अर्ब ६८ करोड रुपैयाँ बराबरको सामान निर्यात गरेको थियो ।
विभागका अनुसार चालू आवको दुई महीनामा नेपालले २ खर्ब ३३ अर्ब ३० रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । गत आवको सोही अवधिमा नेपालको व्यापार घाटा २ खर्ब ४४ अर्ब ९१ करोड ९२ लाख रुपैयाँ बराबरको थियो ।