काठमाडौं । आइतवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओ सूचीकृत भएको छ । कम्पनीको ८० लाख कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत भएको हो ।
अब कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा भोलि (सोमवार) कारोबारमा आउनेछ । कम्पनीको पहिलो कारोबारका लागि ७४ देखि २२२ रुपैयाँसम्मको ओपन रेञ्ज तोकिदिएको छ । यही मूल्य रेञ्जको आधारमा कम्पनीको शेयर भोलिदेखि कारोबारमा आउनेछ ।
कम्पनीले सर्वसाधारण, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दा र कर्मचारीहरूको लागि निष्कासन गरेको २८ लाख कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरूले लगानी गरेको ५२ लाख कित्ता गरेर कुल ८० लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।
कम्पनीको स्टक सिम्बोल एमईएचएल रहेको छ । कम्पनीले शेयर सूचीकरणपश्चात दिनुपर्ने आरटीएस सेवा ग्लोबल आइएमई क्यापिटल, नक्सालबाट हुने जानकारी दिएको छ ।