ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राप्ती दशैं मेला असोज २३ देखि, महलाई विशेष प्रवर्द्धन गरिने !

२०८० असोज, ७  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

चितवन । जिल्लामा राप्ती दशैं मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । व्यापार, व्यवसायको प्रवर्द्धन तथा कला संस्कृतिको संरक्षणका गर्ने उद्देश्यले उक्त कार्यक्रम हुने भएको हो । 

राप्ती युथ एण्ड इन्टरटेनमेन्ट प्रालिको आयोजनामा असोज २३ देखि कात्तिक ४ गतेसम्म मेला सञ्चालन हुन लागेको शनिवार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।

‘उद्योग, व्यापार, कृषि र पर्यटनको समन्वय, समुन्नत नगरको उदय’ भन्ने नाराका साथ राप्ती–६ राजमार्गसँग जोडिएको हर्दीको खाली चौरमा मेला सञ्चालन हुने मेलाका संयोजक प्रवीण खनालले जानकारी दिए । 

मेलामा सयओटा स्टल रहने छन् । मेलामा वडास्तरीय डोरी तान्ने प्रतियोगिता, स्लो साइकल रेस, स्लो बाइक रेस, नृत्य र चित्रकला प्रतियोगिता, फुटबल ट्राइ ब्रेकरलगायतका खेलहरू पनि आयोजना हुने छन् । मेलामा ५० लाखभन्दा बढीको कारोबार हुने र ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

मेलामा महलाई विशेष महत्त्व दिन लागिएको छ । महको विशेष स्टल रहने र अतिथिहरूलाई मायाको चिनोस्वरूप मह प्रदान गरिने संयोजक खनालले बताए ।

मेलाबाट भएको आम्दानीबाट १३ ओटै वडाका युवा, महिलालाई स्वरोजगार तालिम, स्वास्थ्य शिविर लगायतका कार्यक्रम गरिने आयोजकले प्रतिबद्धता जनाएको छ ।

मेला प्रवेशका लागि सर्वसाधारणलाई एक सय र विद्यार्थीलाई पचास रुपैयाँ शुल्क तोकिएको छ । अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । 

मेलामा प्रमोद खरेल, ज्योति मगर, स्वप्न सुमन, भूमिका गिरी, एलिना चौहान, दुर्गेश थापा, तृष्णा गुरूङलगायतका कलाकारहरूलाई बोलाउने तयारी गरिएको संयोजक खनालले बताए । 

‘आर्थिक मन्दीले व्यापार, व्यवसाय थलिएको छ, मेलाले राहतको महसुस हुने अपेक्षा छ,’ संयोजक खनालले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)