ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शेयरबजार विचार हजार कि लाख ?

२०८० असोज, ८  
लेख | दृष्टिकोण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar शिवप्रसाद अर्याल

हामी जति पनि शेयरको कारोबार गर्छौं त्यसै आधारमा आफ्नै किसिमले व्याख्या गर्छौं । अथवा भनौं आफ्नो अनुभवलाई लिखित या मौखिक रूपले व्यक्त गर्छौं । त्यसैलाई भनिएको हो : शेयरबजार विचार हजार । म पनि साधारणलगानीकर्ता भएकाले बेलाबेलामा आफ्नो अनुभव अरूलाई जानकारी गराउने गरेको छु । यसै आधारमा अरूले पनि केही फाइदा लिन सकून् भनेर आफ्ना धारणा राख्दै आएको हुँ । 

कुनै पनि शेयर कारोबारीले चाहिने भन्दा बढी हौसिएर कारोबार गर्दैन र बजार पनि नियमसंगत रूपले चल्छ भने यहाँहरूले बैंक ब्याजभन्दा १० प्रतिशत बढी आय अवश्य गरिरहनुभएको छ । यहाँ नियमित भन्नुको अर्थ के हो ? शेयरबजारमा बेलाबेलामा चलखेलको समाचारहरू हामीले सुन्दै आएका छौं । अझ मैले त केसम्म सुनेको छु भने हामीकहाँ ४ करोड भयो र पाँच छ जना मिलेर कारोबार गरियो भने कुनै पनि शेयरलाई माथि लान र तल झार्न सकिन्छ । किनभने हामी कहाँ दैनिक शेयर कारोबारमा आउने कुनै पनि संस्थाको शेयर ५ प्रतिशत मात्रै हो । त्यो प्रतिशत शेयर ४ करोडले कुनै पनि शेयरको मूल्य चाहेजस्तो तलमाथि गर्न सकिन्छ । त्यसैले हाम्रो बजारमा यदि हल्ला र अध्ययनविना गरिने कारोबारले हामीलाई घरको न घाटको बनाउन धेरै समय लाग्दैन । यदि हामी राम्रो अध्ययन विश्लेषण गरेर कारोबार गर्ने हो भने हामीले मात्र ५/१० लाख लगानी गरेर पनि दैनिक ५ हजार कमाउन सक्छौं । तर, एकैचोटि धनी बन्न हौसिएर लगानी गर्नुचाहिँ हुँदैन । 

अहिले शेयरमा लगानी गर्ने व्यक्तिहरूले अवश्य नै अनुभव गर्नु भएकै हो कोरोनापछि हाम्रो शेयरबजार अझै पनि राम्रो लयमा आइसकेको छैन । यसको मुख्य कारण हो कोरोनाको शुरुआतीको कारणले गर्दा ५०/५५ लाख व्यक्ति घरै बसीबसी शेयर कारोबार गर्ने अनुमति लिनु । कोरोना कालमा भएको बन्दाबन्दीका कारण घरबाहिर हिँड्न कठिनाइका कारण धेरैजस्तो व्यक्तिले घरै बसेर पनि कारोबार गर्न सकिने भएकाले पैसा कमाउन सकिन्छ भनेर अध्ययनविना अन्दाजको भरमा हौसिएर कारोबार गर्नु । मैले माथि नै भनिसकेको छु, शेयर कारोबारीलाई विनाअध्ययन र हौसिएर कारोबार गर्नै छूट छैन । तर, मैले गरेको अध्ययनले के देखेको छु भने त्यति बेला नयाँ कारोबारीमध्ये ८० प्रतिशतले हौसिएर विना पूर्ण ज्ञान लगानी गरेको पाएको छु । जसले गर्दा ती कारोबारीका कारण शेयरको मूल्य एकातिर कारोबार बिग्रियो भने अर्कोतिर ती लगानीकर्ताले पनि पक्कै धेरै नै गुमाउनुभएको छ । त्यसैले शेयरमा लगानी गर्दा एउटै शेयरमा लगानी गर्नु हुँदैन भने अध्ययन र विश्लेषण पनि गर्न जान्नुपर्छ जसको लागी कमसेकम लगातार तीन वर्षको आयव्ययको अध्ययन गर्नु जरुरी छ । हामीले शेयर कारोबार गर्नुअघि शेयरसम्बन्धी अध्ययन गर्नु वा तालीम लिनु जरुरी छ । अन्दाज र हल्लाको भरमा कारोबार गर्नु हुँदैन । 

यदि शेयर कारोबार नियमपूर्वक भयो भने यसबाट हामीलाई दुई थरीबाट फाइदा हुन्छ । पहिलो हामी बैंकको ब्याजभन्दा बढी आय आर्जन गर्न सक्छौं । अर्को कुरा हामी देश विकासमा पनि सहयोग गरिरहेका हुन्छौं । त्यसैले शेयर कारोबार गर्नु भनेको एकातिर आफ्नो आय स्रोत बढाउनु भने अर्कोतिर देशमा खुल्ने उद्योगधन्दामा पनि सहयोग पुर्‍याउनु हो । साथै हामीले लगानी गरेको संस्थाले कैयौं व्यक्तिहरूलाई रोजगारी पनि दिइरहेका हुन्छौं । तर, अध्ययन भने अति जरुरी छ । यहाँ भन्नै पर्ने कुरा के छ भने शेयर कारोबार गर्न यससम्बन्धी जानकारी हुनचाहिँ आवश्यक हुन्छ । त्यसैले पैसा छ भन्दैमा जथाभावी लगानी गर्नु भनेको नोक्सानीमा पर्नु हो । मैले मेरो छेउछाउमा बस्ने एक जना भाइलाई देखेको छु कि ऊ सामान्य व्यक्ति थियो र एमबीएको पढाइ पनि गर्दै थियो । हामी सबैलाई थाहा भएकै कुरा हो हामीकहाँ उद्योगहरूको कमीले गर्दा काम पाउन सजिलो छैन । त्यसैले ऊ पनि साथीभाइको लहै लहैमा लागेर शेयर कारोबारी भएछ । शुरूमा त उसले करोडांै कमाएछ त्यही कमाएको पैसाले घर पनि बनाएछ । भर्खरको ठिटो करोडौं कमाएपछि साथीभाइलाई खुवाउने पियाउने घुमाउने पनि गर्न थालेछ । तर, जब घर बनायो त्यसपछि ऊसँग पैसाको कमी भएको महसूस गरेर शेयरमा आफ्नो घर नै बैंकमा राखेर आक्रामक रूपमा लगानी गर्न थालेछ । अझ साथीभाइसँग पनि लिएछ तर उसले एउटा कुरा के ध्यान दिएन भने बजार सधंै हरियो हुँदैन । त्यसमाथि कोरोनाको कारण बजार लगातार घट्न थाल्यो । तर उसले के सम्झेछ भने २/४ दिन हो, बजारमाथि गै हाल्छ । तर, उसले लिएको शेयर त तीन गुना घटेछ । त्यसपछि उसलाई बैंकको दबाब र साथीभाइहरूबाट पनि पैसा फिर्ताको दबाब आउन थालेछ । अब ऊसँग न बैंकको ऋण तिर्न पैसा छ न साथीभाइलाई तिर्न पैसा । त्यसपछि घरमा बस्नै गाह्रो परेकाले ऊ त्यसपछि घर नै छाडेर भाग्यो । आज २ वर्ष भयो उसको कुनै खबर छैन । त्यसैले सजग भएर मात्र लगानी गर्नु अति जरुरी छ । साथै के पनि ध्यान पुर्‍याउनु जरुरी छ भने कुनै शेयर लगातार केही दिन बढ्यो भन्यो भने आफूसँग भएको सबै पैसा त्यसैमा लगानी गर्नु भनेको त्यो मूर्खता हुन सक्छ ।

लेखक शेयरबजारका लगानीकर्ता हुन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)