ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सम्झौतामा प्रतिस्पर्धा कार्यान्वयनमा बेवास्ता

२०८० असोज, ९  
टिप्पणी
Aarthik Abhiyan 18th Anniversary Image Not Found

प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमणका बेलामा महत्त्वपूर्ण सम्झौता हुने बताए पनि विभिन्न समझदारीपत्रमा हस्ताक्षर र आदानप्रदान मात्रै भएको छ जुन नेपालले गरेको अपेक्षाअनुसार भएको छैन । हिल्सा सिमकोट रोड परियोजनासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुनेबाहेक पूर्वाधार सम्बन्धमा कुनै समझदारी वा सम्झौता हुन सकेन । यसले नेपाल र चीनबीचको अविश्वास कायमै रहेको वा चीनले नेपालले सानातिना विषयमा अल्झाइमात्र रहने नीति लिएको कुरालाई पुन: पुष्टि गरेको छ । 

प्रधानमन्त्री दाहाललाई सम्मानचाहिँ राम्रोसँग गरेर औपचारिकताको निर्वाह गरेको छ । यो नेपाललाई हेर्ने चीनको कूटनीतिक दृष्टिकोणको संकेत हो । विगतमा भएका सन्धिसम्झौताका समीक्षा हुन सकेन । तिनको कार्यान्वयन कसका कारणले हुन नसकेको हो, दुवै पक्षले त्यसमा छलफलसमेत गर्न आवश्यक देखेनन् । नेपालले नयाँनयाँ अपेक्षा राखेर चीन जाने, तिनमा हस्ताक्षर गर्ने तर कार्यान्वयनका लागि पहल नगर्ने प्रवृत्ति देखिन्छ । अन्तरदेशीय रेलवेदेखि टोखा–छहरे सुरुङ मार्ग निर्माण सम्बन्धमा समेत कुनै छलफल भएन । नयाँ माग नराख्न तर पुराना सम्झौता कार्यान्वयनमै केन्द्रित हुन विज्ञहरूले सुझाव दिए पनि त्यसअनुसार नेपालले तयारी गरेको पाइएन । 

नेपाल आफ्नो विकासको चाहना पूरा गर्न विश्वका जुनसुकै मुलुकसँग सहयोग लिन स्वतन्त्र छ । तर, यसमा नेपालले अडान राख्न तथा अन्य देशलाई आश्वस्त र विश्वस्त पार्न सकेको छैन । चाहे एमसीसी सम्झौताको सन्दर्भ होस्, चाहे भारतसँग भएका विभिन्न सम्झौता हुन्, तेस्रो मुलुकले जहिले पनि नेपाललाई संशय र आशंकाले हेर्ने गरेको पाइन्छ । चीनको ऋणबाट बनेको भनेर भारतले भैरहवा र पोखरा विमानस्थल सञ्चालनमा पूरै असहयोग गरिरहेको छ भने चीनले उत्तरी नाकामा अनेक बहानामा अवरोध पुर्‍याएर नेपाललाई कुनै न कुनै रूपमा दु:ख दिइरहेको छ । यस्तोमा भारत, चीन दुवै छिमेकीले नेपाल सरकारलाई भन्दा बढी राजनीतिक दललाई महत्त्व दिने गरेको देखिन्छ । नाम भाइचारा भए पनि तिनले दललाई आफ्नो स्वार्थअनुरूप प्रयोग गरेको आशंका स्वतन्त्र विश्लेषकहरूले गरेको पाइन्छ । विकास निर्माणका काममा सहयोगको आश्वासन दिने तर आन्तरिक राजनीतिमा कुनै न कुनै रूपमा आफूलाई बलियो बनाउने यी देशको रणनीतिमा नेपाल फसिरहेको छ । प्रधानमन्त्रीको भ्रमणले नेपालको यही असफलतालाई पुष्टि गरेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)